झापामा ब्राउन सुगरको कारोबार गर्ने पाँच जना पक्राउ
झापामा प्रतिबन्धित लागू औषध ब्राउन सुगरको कारोबार गर्ने एक कारोबारीसहित पाँच जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका -१२ स्थित कालिझोडा जंगलमा लागू औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो साढे ३ बजेको समयमा बिर्तामोड नगरपालिका- ७ मियाबस्ती बस्ने १९ वर्षीय महमद आरिफलाई ५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो ।
उनलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दै जाँदा अर्जुनधारा नगरपालिका- ११ स्टाफ चौक बस्ने २० वर्षीय प्रदीप दर्जीको साथबाट १ ग्राम ५०० मिलिग्राम, मेचीनगर नगरपालिका- १३ बस्ने २८ वर्षीय धनबहादुर महताराको साथबाट ८०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनीहरूसँगै रहेका बिर्तामोड नगरपालिका- १० सैनिक बजार बस्ने २४ वर्षीय सन्दीप लाम्गादे समेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याएर थप अनुसन्धान गर्दै जाँदा विगतका दिनदेखि नै लागू औषधको कारोबारमा संलग्न प्रहरीको खोजीमा रहेका भारत दार्जिलिङ खोरीवारि थाना बस्ने ३२ वर्षीय राजेन्द्र बर्मनलाई मेचीनगर नगरपालिका- ७ ईटाभट्टाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चेकजाँच गर्दा उनको साथबाट १० ग्राम ब्राउन सुगर र नेपाली नगद २७ हजार ५० फेला परेको थियो । उनलाई समेत नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।