किसानको पीडाः भारतीय माछाका कारण व्यवसाय जोगाउनै चुनौति
झापाका व्यावसायिक माछा किसान यति बेला उत्पादन वृद्धि होइन, व्यवसाय जोगाउने चिन्तामा छन् । विद्युत् महसुल, दाना तथा अन्य उत्पादन सामग्रीको बढ्दो लागत, बजार व्यवस्थापनको कमजोरी र आयातित माछासँगको प्रतिस्पर्धाले माछापालन व्यवसाय दबाबमा परेको किसानहरूको भनाइ छ ।
उनीहरूले माछा पालनलाई पुनः कृषि उद्यमका रूपमा मान्यता दिई सहुलियत विद्युत् महसुल, प्रभावकारी बजार व्यवस्थापन, प्राविधिक सहयोग तथा अवैध आयात नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । नेपाल मत्स्य विकास संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी शिवाकोटीले माछापालन कृषि व्यवसाय भए पनि व्यवहारमा उद्योग सरहको भार वहन गर्नुपरेको बताए । उनका अनुसार विद्युत् महसुलमा भएको वृद्धिले उत्पादन लागत उल्लेख्य रूपमा बढाएको छ । उत्पादन लागत बढे पनि बजार मूल्य सोही अनुपातमा बढ्न नसक्दा किसानको लगानी जोखिममा पर्दै गएको उनले बताए ।
उनले स्वदेशी माछा उत्पादकले भारतीय माछासँग असमान प्रतिस्पर्धा गर्नुपरेको पनि उल्लेख गरे । सीमा नाकाबाट आयात हुने माछाको प्रभावकारी व्यवस्थापन हुन नसक्दा नेपाली किसानले उत्पादन गरेको माछाले उचित बजार र मूल्य पाउन कठिन भइरहेको उनको भनाइ छ । उत्पादन भएर बजारमा पुगेको माछा बिक्री गर्नसमेत समस्या हुने गरेको उनले बताए ।
संघका अनुसार झापामा वार्षिक करिब एक हजार पाँच सय टन माछा उत्पादन हुने गरेको छ भने करिब दुई सय जना किसान व्यावसायिक माछापालनमा संलग्न छन्। पूर्वी नेपालमा माछा उत्पादनको महत्त्वपूर्ण जिल्लाका रूपमा परिचित झापामा पछिल्लो समय लागत बढ्दै गएपछि नयाँ लगानीकर्ता आकर्षित हुन सकेका छैनन् भने केही किसान व्यवसाय विस्तारको योजना स्थगित गर्न बाध्य भएका छन् ।
व्यावसायिक माछा किसान हरिप्रसाद मैनालीका अनुसार दाना, औषधि, विद्युतीय उपकरण तथा श्रम खर्च लगातार बढिरहेकाले उत्पादन लागत नियन्त्रण गर्न कठिन भएको छ । बजारमा माछाको माग रहे पनि लागत धेरै भएकाले अपेक्षित उत्पादन गर्न नसकिएको उनले बताए। सरकारबाट प्राविधिक सहयोग, नियमित अनुगमन र उत्पादनमैत्री नीति आवश्यक रहेको उनको भनाइ छ ।
अर्का किसान राजु सापकोटाले गुणस्तरीय दाना, नयाँ प्रविधि र प्राविधिक तालिमको अभावले उत्पादन क्षमता बढाउन चुनौती थपिएको बताए । विकसित मुलुकहरूमा कृत्रिम बुद्धिमत्ता (एआई) लगायत आधुनिक प्रविधि प्रयोग गरेर माछापालन व्यवस्थापन भइरहेको उल्लेख गर्दै उनले नेपालमा पनि प्रविधिमैत्री माछा पालनलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे ।
किसानहरूका अनुसार झापामा उत्पादन हुने माछाले साबिक मेची क्षेत्रको ठूलो हिस्सा धान्न सक्ने क्षमता भए पनि प्रभावकारी बजार व्यवस्थापन, चिस्यान भण्डारण, मूल्य स्थिरीकरण र आयात व्यवस्थापनको अभावले स्वदेशी उत्पादनले अपेक्षित लाभ लिन सकेको छैन । माछा उत्पादकहरूले माछा पालनलाई पुनः कृषि उद्यमका रूपमा स्पष्ट मान्यता दिन, सहुलियत विद्युत् महसुल उपलब्ध गराउन, अनुदान तथा प्राविधिक सेवा विस्तार गर्न, अवैध आयात नियन्त्रण गर्न र स्वदेशी उत्पादनको बजार सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् । किसानहरूको भनाइमा यी विषयमा प्रभावकारी सुधार हुन सके माछापालनले रोजगारी सिर्जना, आयात प्रतिस्थापन र खाद्य सुरक्षामा अझ ठूलो योगदान पु¥याउन सक्छ ।
झापामा व्यवसायीक रुपमा कृषकले माछापालनसंगै माछा पारखीहरूको सङ्ख्या पनि बढ्दै गएको छ । माछा उत्पादकहरूले माछा पालनलाई निरन्तरता दिएपनि सरकारी तवरबाट पर्याप्त सहयोग नपाएको गुनासो गर्ने गरेका छन् । पछिल्लो समय झापामा नै उत्पादन भइरहेका माछा खानका लागि विभिन्न स्थानमा सञ्चालनमा आएका होटलहरुमा मानिसको चहलपहल समेत बढ्दै गएको छ । कतिपय किसानहरूले आफैँ माछापालन गर्दै होटलमार्फत आफैँ आफ्नो उत्पादनलाई बिक्री वितरण गरिरहेका छन् ।
झापाको बिर्तामोडसहित अर्जुनधारा, दमक, मेचीनगर, कनकाई, शिवसताक्षी लगायतका विभिन्न स्थानमा माछाका पारखीहरूका लाई विभिन्न होटेलहरू समेत सञ्चालनमा आएका छन् । अझै पनि खुल्ला सिमानाको फाइदा उठाउँदै भारतबाट पनि तस्करी मार्फत माछाहरू भित्रने क्रम भने रोकिएको छैन । भारतबाट फर्मालिन हालेको माछा स्वास्थ्यका लागि जोखिम हुने भएकाले आफ्नै स्थानमा उत्पादन हुने माछा फाइदाजनक हुने बताइन्छ ।