२०८३ श्रावण १० गते , आईतबार

काँकडभिट्टाबाट भन्सार छलेर ल्याइएको ३२ बोरा चिनीसहित पिकअप र मोटरसाइकल सशस्त्रको नियन्त्रणमा

sajilo news
पार्थ मण्डल
२०८३ श्रावण १० गते , आईतबार
काँकडभिट्टाबाट भन्सार छलेर ल्याइएको ३२ बोरा चिनीसहित पिकअप र मोटरसाइकल सशस्त्रको नियन्त्रणमा

झापा । काँकडभिट्टा नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको ठूलो परिमाणको चिनीसहित दुईवटा सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले काँकडभिट्टाबाट बिर्तामोडतर्फ ल्याउँदै गरेको चिनी बोकेको एउटा पिकअप र एउटा मोटरसाइकल पूर्व पश्चिम राजमार्ग अन्तरगत अर्जुनधारा नगरपालिका–११ कालाझोडाबाट आइतबार बिहान करिब ३ः३० बजे नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस शनिश्चरेका सप्रनि अमरबहादुर भुजेलको कमान्डमा खटिएको मोबाइल गस्ती टोलीले विशेष सूचनाको आधारमा प्र–१–०१–००१ ज ४०३६ नम्बरको पिकअप र मे १० प ५७५५ नम्बरको मोटरसाइकलमा लोड गरी भारतबाट भन्सार छली नेपालतर्फ ल्याइँदै गरेको ३२ बोरा चिनी बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाले जनाएको छ । बरामद गरिएको चिनीको अनुमानित मूल्य १ लाख १२ हजार, पिकअपको १० लाख तथा मोटरसाइकलको २ लाख गरी जम्मा १३ लाख १२ हजार बराबर रहेको जनाइएको छ । 
बरामद गरिएको चिनी, पिकअप र मोटरसाइकल आवश्यक कारबाहीका लागि सोमबार भन्सार कार्यालयमा बुझाउने सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र स्रोतका अनुसार सो चिनीसहितका दुई वटै सवारीसाधन बिर्तामोडका कारोबारी पिन्टु साहको रहेको जनाएको छ । साहले काँकडभिट्टाबाट दैनिक लाखौँ मुल्य बराबरको खाद्यान्न सामग्रीसहित लत्ताकपडा लगायतका सामान भन्सार छलेर भित्राउँदै आइरहेको छ ।

कारोबारी साहले काँकडभिट्टामा खटिएका सुरक्षाकर्मीहरूलाई समेत मासिक रुपमा लाइन बुझाउँदै खुलेआम रुपमा भन्सार छलेका सामान बिर्तामोडसम्म ल्याउँदै आइरहेका छन् । उनले सशस्त्रका कारबाहीमा परेका हरि मगरलाई लाइन बुझाएर काम गर्दै आइरहेका थिए । मगर कारबाहीमा परेपछि उनको सामान सशस्त्र प्रहरीले बरामद गरेको कारोबारी स्रोतको दाबी छ । बिर्तामोडमा आउने ठूलो मात्राका खाद्यान्न सामग्री साह बाहेक अरू कसैले पनि भित्राउन नसक्ने स्रोतको दाबी छ । 

सम्बन्धित समाचार