२०८३ बैशाख २४ गते , विहीबार

भद्रपुरबाट ब्राउन सुगरको एक कारोबारी पक्राउ

sajilo news
झापा
२०८० जेष्ठ २१ गते , आईतबार
भद्रपुरबाट ब्राउन सुगरको एक कारोबारी पक्राउ

भद्रपुर  । झापाको भद्रपुरमा लागु औषध ब्राउन सुगरको बेचबिखन गर्ने एक कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका– ७ निवासी ३७ वर्षीय अजित विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 
विश्वकर्माको घरमा ब्राउन सुगर कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो । प्रहरीले उनले लगाएको कालो रङको कट्टुको कम्मरको भागको इलास्टिकमा फोल्ड गरी कालो प्लास्टिकको टुक्रामा पोको बनाई लुकाइछिपाई राखेको २ ग्राम १२० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो । 
ब्राउन सुगर फेला परेपछि प्रहरीले उनको कोठाको दराजबाट तीन थान डिजिटल तराजु, विभिन्न कम्पनीको १६ थान मोबाइल समेत फेला पारेको छ ।  
यता पक्राउ परेका कारोबारी विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान अघि बढाएको डीएसपी रिजालले बताए । 
प्रहरीले केही दिनअघि भद्रपुर नाकाबाट ब्राउन सुगरको कारोबार गर्ने दुई भारतीय नागरिकलाई समेत पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला खोरीवारिका २२ वर्षीय शिवु घोष र सोही ठाउँकी २६ वर्षीया श्यामली सोरेन रहेका छन् । भद्रपुरबाट ब्राउन सुगर खरिद गरी लगेका व्यक्ति पक्राउ परेपछि उनकै सुराकीको आधारमा उनीहरू पक्राउ परेका थिए ।

सम्बन्धित समाचार