२०८३ बैशाख २४ गते , विहीबार

झापामा एकैदिन तीनजना फरार प्रतिवादी पक्राउ

sajilo news
झापा
२०७९ चैत्र २५ गते , शनिबार
झापामा एकैदिन तीनजना फरार प्रतिवादी पक्राउ

झापामा एकैदिन तीनजना फरार प्रतिवादी पक्राउ परेका छन् । सवारी ज्यान ,जबरजस्ती करणी र ठगी मुद्दामा फरार रही पक्राउ परेका तीनै जना दमकका रहेका छन् ।

सवारी ज्यान मुद्दामा फरार दमक नगरपालिका- ७ बस्ने ४५ वर्षीय पवन लिम्बू पक्राउ परेका हुन् । झापा जिल्ला अदालतको मिति २०७५ असार ५ गते भएको फैसला अनुसार सवारी ज्यान मुद्दामा लिम्बूलाई १ वर्ष ११ महिना ४ दिन कैद सजाय तोकिएको थियो । फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो ।

त्यस्तै जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी दमक नगरपालिका- ३ बस्ने ३६ वर्षीय नगेन राई पनि बिहीबार नै पक्राउ परेका छन् । उनी १२ वर्षपछि पक्राउ परेका हुन् । झापा जिल्ला अदालतको मिति २०६७ फागुन १७ गते भएको फैसला अनुसार जबरजस्ती करणी मुद्दामा राईलाई ११ वर्ष जेल सजाय तोकिएको थियो । फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो ।

त्यस्तै ठगी मुद्दामा फरार रहेका दमक नगरपालिका- ८ बस्ने ४१ वर्षीय वेदप्रसाद सेडाई पनि पक्राउ परेका छन् । उनी १० वर्षपछि पक्राउ परेका हुन् । झापा जिल्ला अदालतको मिति २०६९ चैत २० गते भएको फैसला अनुसार ठगी मुद्दामा सेडाईलाई ५ दिन कैद र रु १ हजार जरिवाना तोकिएको थियो ।

फरार रहेका तीन जनालाई पक्राउ गरी शुक्रवार अदालतको आदेशले जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार