२०८३ बैशाख २४ गते , विहीबार

झापा, मोरङ र सुनसरी क्षयरोगको उच्च जोखिममा, भद्रपुरमा डिआर सेन्टर स्थापना

sajilo news
पार्थ मण्डल
२०७९ चैत्र १० गते , शुक्रबार
झापा, मोरङ र सुनसरी क्षयरोगको उच्च जोखिममा, भद्रपुरमा डिआर सेन्टर स्थापना

झापा  । कोशी प्रदेशका तीन जिल्ला क्षयरोगको संक्रमण उच्च जोखिममा रहेको छ । विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य निर्देशनालय धनकुटाले शुक्रबार भद्रपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय झापाका अधिकृत विश्वनाथ श्रेष्ठले कोशी प्रदेशका झापा, मोरङ र सुनसरी क्षयरोगको संक्रमण उच्च जोखिम रहेको बताएका छन् । हरेक वर्ष क्षयरोगीको संस्था बढ्ने क्रममा छ । 
आर्थिक २०७७/७८ मा झापामा ९९२, मोरङमा ९६२ र सुनसरीमा ८८९ नयाँ बिरामी फेला परेको थियो । आर्थिक २०७८/७९ मा झापामा ११८३, मोरङमा १२६२ र सुनसरीमा १०६० बिरामी फेला परेको अधिकृत श्रेष्ठले बताए । लगभग ५० प्रतिशत नेपाली जनसङ्ख्या क्षयरोगले ग्रसित छ । हरेक वर्ष करिब ६९ हजार नयाँ क्षयरोगीहरू नेपालमा थपिने र ३७ हजार बिरामी हराउने गर्छन् । बर्सेनि करिब १७ हजार नेपाली क्षयरोगले मर्ने तथ्याङ्कमा उल्लेख छ । क्षयरोगीहरूको उमेर समूह धेरैजसो उत्पादक उमेर समूह अर्थात् १५ देखि ४९ वर्ष हुने गर्दछ । नेपालमा क्षयरोगको उपचारका लागि ४३२१ डट सेवा केन्द्रहरू रहेका छन् । सन् २०१६ सम्मा ४५ जिल्लामा मात्र रहेको जिन एक्सपर्ट सुविधा सन् २०२१ सम्मा ७७ वटै जिल्लामा लाने नेपाल सरकारले लक्ष्य लिएको थियो तर कोभिडको महामारी र विषम परिस्थितिका कारणले अपेक्षाअनुरूप यो लक्ष्य पुरा भइसकेको छैन । यस प्रविधि क्षयरोग पत्ता लगाउन धेरै भरपर्दो र गुणस्तरीय मानिन्छ । 
यता झापाका १५ वटा पालिकामध्ये मेचीनगर, दमक र बिर्तामोड क्षयरोग संक्रमणको जोखिम पालिकामा पर्छ । चालु आर्थिक वर्ष २०७९/०८० को फागुनसम्म मेचीनगरमा ११७, दमकमा ८९, बिर्तामोडमा ७६, भद्रपुरमा ६५, अर्जुनधारामा ५४ नयाँ बिरामी फेला परेको तथ्याङ्कमा छ । आर्थिक वर्ष ०७८/७९ मा जिल्लामा १४ जनाको क्षयरोगबाट मृत्यु भएको थियो ।  

भद्रपुरमा डिआर सेन्टर स्थापना 

स्वास्थ्य निर्देशनालय धनकुटाले भद्रपुर–८ स्थित क्षयरोग निवारण संस्थामा डिआर सेन्टर सञ्चालनमा ल्याएको छ । प्रादेशिक अस्पताल भद्रपुरको पहलमा स्वास्थ्य निर्देशनालयले विश्व क्षयरोग दिवसको सन्दर्भमा पारेर डिआर सेन्टर सञ्चालनमा ल्याएको हो । 

यसअघि कोशी प्रदेशमा विराटनगर, धरान र ओखलढुङ्गामा डिआर सेन्टर सञ्चालनमा आइसकेको छ । साबिक मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङका क्षयरोगी बिरामीको सेवा सुविधालाई मध्यनजर गरी डिआर सेन्टर सञ्चालनमा ल्याएको हो । 
डिआर सेन्टर सञ्चालनका लागि आवश्यक स्वास्थ्य सामग्री र उपकरण स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको छ, भने प्रादेशिक अस्पतालले चिकित्सकसहितको जनशक्ति खटाएको जनाइएको छ ।

डिआर सेन्टर सञ्चालनमा आएसँगै औषधि प्रतिरोधी क्षयरोग बिरामीहरूलाई प्रत्यक्ष फाइदा पुग्ने प्रादेशिक अस्पतालका मेसु डा. टङ्कप्रसाद बाह्रकोटीले जानकारी दिए । स्वास्थ्य कार्यालय झापा, प्रादेशिक अस्पताल भद्रपुर र भद्रपुर नगरपालिकाको व्यवस्थापनमा भएको कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले गरेका थिए । सो कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, स्वास्थ्य कार्यालय प्रमुख रमेश बाह्रकोटी लगायतको उपस्थिती रहेको थियो । साथै सोही अवसरमा क्षयरोगीहरुलाई पोषणयुक्त खानेकुरा समेत वितरण गरिएको थियो ।  

सम्बन्धित समाचार