मोरङको लेटाङमा दुर्घटना, दुई महिलाको मृत्यु
मोरङको लेटाङमा अलगअलग स्थानमा दुर्घटनामा परेर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृतक दुवै जना महिला हुन् । कानेपोखरीबाट लेटाङतर्फ जाँदै गरेको अनटेस्ट सीटी सफारी लेटाङ नगरपालिका–३ मा शनिबार बिहान ११ः५५ बजेतिर दुर्घटनामा परेको थियो । सफारी आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा चार जना घाइते भएका थिए ।
दुर्घटनामा परेर घाइते हुनेमध्ये लेटाङ–४ सिद्धार्थ लाइनकी ६० वर्षीया सन्चमाया लावतीको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकी उनलाई उपचारका लागि लेटाङकै एडभान्स अस्पताल लगिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पुर्याइयो । अस्पताल पुर्याउनसाथ उनको शनिबार दिउँसो १ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, लेटाङ–९ जाँतेमा ९ दिनअघि दुर्घटनामा परेर घाइते भएकी एक जना युवतीको शनिबार दिउँसो मृत्यु भएको छ । मदन भण्डारी लोकमार्गअन्तर्गत लेटाङ–९ जाँतेमा प्र १–०२–०६० प १७५५ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको को २२ प ९५०९ नम्बरको स्कुटरलाई असार ११ गते ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर मोटरसाइकल चालक ताप्लेजुङको मिकुवाखोला गाउँपालिका–२ का ३० वर्षीय प्रवीण दाहाल, स्कुटर चालक लेटाङ–९ की २५ वर्षीया चाँदनी राई र पछाडि सवार २२ वर्षीया मुना दाहाल घाइते भएका थिए । घाइतेमध्ये गम्भीर अवस्थाकी मुना दाहालको विराटनगरको न्युरो अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो ३ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते मोटरसाइकल चालक र स्कुटर चालकको न्युरो अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये स्कुटर चालक चाँदनी राईको अवस्था गम्भीर छ ।