श्रीमानको छुरा प्रहारबाट घाइते झापाकी विना खर्च अभावमा मृत्यु कुर्दै
सँगै जिउने सँगै मर्ने भनी एकअर्कामा कसम खाएर प्रेम विवाह गरेको ६ महिनामै श्रीमान्को छुरा प्रहारबाट सख्त घाइते बनेकी कनकाई ३ कालिस्थानकी ३८ बर्षिया विना लिम्बू उपचार अभावमा मृत्युसँग पैठे जोरी खेल्दै छिन् ।
गत भदौमा मात्रै उनले कनकाई नगरपालिका ३ भीमसेन स्थानमा डेरा गरी बस्ने पदमबहादुर कुमालसँग प्रेम विवाह गरेकी थिइन् । विनाले विवाह गर्दा श्रीमान्संगै जिउने कल्पना गरेकी थिइन् । तर,विवाहको खुसी भने लामो समय टिकेन । विवाह गरेको केही महिनाभित्रै श्रीमान्ले मादक पदार्थ खाएर विनासँग दिनहुँ झैझगडा गर्ने र कुटपिट गर्ने गरेको स्थानीय मेघराज पाठकले बताए ।
बेलाबखतमा झगडा हुँदा गाउँले र विनाका दाजु सोमबहादुर लिम्बूले आएर सम्झाई बुझाई मिलाएर राख्ने गरेका थिए । पछिल्लो पटक गत फागुन २४ गते बुधवारका दिन पदमबहादुरले श्रीमती विनाको पेटमा छुरा र टाउकोमा फलामको घनले हानेर सख्त घाइते बनाए ।
श्रीमतीलाई घाइते बनाउने पदमबहादुर प्रहरीले आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेको छ भने उपचार अभावमा विना मृत्युसँग पैठे जोरी खेल्दै आएकी छन् । कनकाई नगरपालिका २ सुके डाँगीमा डेरा गरी बसेको कुमाल परिवारले जनमन गर्दै आएको थियो । हतियार प्रहार गर्ने पदमबहादुरलाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ घाइते विनालाई स्थानीय गाउँले र घाइतेका दाजु भाउजूले चन्दा संकलन गरेर केही दिन झापा र धरानको घोपामा लगेर उपचार गराएका थिए । थप उपचार गर्नका लागि आर्थिक अभावका कारण हाल घरमै ल्याएर खेप्नुपरिरहेको घाइतेका भाउजू निर्मला लिम्बूले बताइन् । आफूहरू पनि जनमन गरेर परिवार पाल्दै आएको र गाउँघरमा उठाएको रकम सकिएपछि हाल घरमै ल्याएर राख्नुपरेको घाइतेका दाजु सोमबहादुर लिम्बुले बताए ।
उपचार अभावमा घाइतेको अवस्था दिनानुदिन नाजुक बनिरहेको स्थानीयको भनाई छ । पीडित परिवारले उपचारका लागि आर्थिक सहयोग गरिइदिनका लागि सबै सहयोगी मनहरूमा अनुरोध गरेका छन् । यसबारेमा केही बुझ्न परेमा विनाका दाजु सोमबहादुर लिम्बूको फोन नम्बर ९८१५०५२०४५ मा फोन गर्न वा यस विना बचाऊ अभियानको नेतृत्व गरिरहेका स्थानीय युवा मेघराज पाठकको नाममा रहेको सनईराज बैँक लिमिटेड सुरुङ्गा झापाको खाता नम्बर ०३८१०१०६१७२०१६ मा रकम जम्मा गरिदिन सबैसँग अनुरोध गरेका छन् ।