झापाको कनकाईमा लक्षित वर्ग निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु
(चन्द्र बस्नेत) कनकाई । झापाको कनकाई नगरपालिकाले यति बेला लक्षित वर्गका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम धमाधम गरिरहेको छ। नगरका ९ वटै वडामा टोल तथा वडाबाट सिफारिस भएका प्रत्येक टोलका अति विपन्न भएका केही घरपरिवारलाई पूर्ण रुपमा निःशुल्क र ५ देखी ८ घर परिवार सम्मका लागी आधा शुल्कमा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले जानकारी दिए।
यसै अन्तर्गत सोमबार कनकाई वडा १ मा निःशुल्क स्वास्थ्य बिमाको सुरुवात गर्दै कार्यक्रमका प्रमुख अतिथि रहेका नगरप्रमुख पोख्रेलले अब नगरबासीले स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्थाको अन्त्य भएको समेत बताए । उनले नगरका सबै जसो वडामा अहिले आधारभूत स्वास्थ्य केन्द्रको स्थापन गरी नगरवासी लाई सहज स्वास्थ्य सेवा सुरु गरिएको जानकारी दिए ।
नगरले यसअघि नगर अस्पतालमा अक्सिजन प्लान्टको स्थापना गरी सेवा दिँदै आएको छ भने नगरवासी अति विपन्न केही गरिब दुखीहरूलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम यति बेला धमाधम गरिँदै आएको उनको भनाई । नगरले प्रत्येक टोलका २ देखि ४ घरपरिवारलाई पूर्ण निःशुल्क र ५ देखि ८ घरपरिवारलाई आधा पैसामा स्वास्थ्य बिमा गर्ने लक्ष्य अनुसार कनकाई वडा नम्बर १ मा पनि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको वडा अध्यक्ष सुशिलकुमार पोख्रेलले जानकारी दिए । दुई वर्ष अघि कोरोना कहरका कारण प्रभावित प्रत्येक नगरवासी हरूलाई अहिलेसम्म नै निःशुल्क अक्सिजन समेत उपलब्ध गराउँदै आएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए ।
वडा नम्बर १ का १६ टोलका ४५ घर परिवारलाई पूर्ण रुपमा निःशुल्क र ९० घरपरिवारलाई स्वास्थ्य बिमाको आधा शुल्कमा बिमा गर्न सुरु गरिएको वडा अध्यक्ष पोख्रेलले बताए ।
कार्यक्रमका अध्यक्षता समेत गरेका वडा अध्यक्ष पोख्रेलले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । वडा १ कि स्वास्थ्य बिमा कार्यक्रमकी प्रतिनिधि शुस्मा पोख्रेलले सहजकर्ता रहेको कार्यक्रममा वडा सदस्यहरू निर्मला खड्का, हरिकुमार राई, सङ्गीता ल्वागुन, दलबहादुर थापा, वडा सचिव कमला विश्वकर्मा, कर्मचारी कोपिला अधिकारी, निर्मला बानिया, टोल विकास संस्थाका पदाधिकारी , स्थानीय सेवाग्राही लगायत उपस्थिति रहेको थियो। वडा सदस्य दलबहादुर थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन महिला वडा सदस्य निर्मला खड्काले गरेकी वडा सदस्य हरिकुमार राईले जानकारी दिए ।