२०८३ बैशाख २४ गते , विहीबार

बिर्तामोडमा बन्यो नगर अस्पतालको भवन, सभामुखद्वारा उद्घाटन

sajilo news
झापा
२०७९ फाल्गुन २१ गते , आईतबार
बिर्तामोडमा बन्यो नगर अस्पतालको भवन, सभामुखद्वारा उद्घाटन

झापाको बिर्तामोड नगर अस्पतालको स्वास्थ्य सेवा नवनिर्मित भवनबाट सुरु भएको छ ।   साढे पाँच करोडको लागतमा निर्मित नगर अस्पतालको दुई तले नयाँ भवनको शनिवार एक समारोहका बीच सभामुख देवराज घिमिरेले उद्घाटन गरेका हुन् । 

नगरकै गौरव योजनाको रुपमा सो अस्पतालको सेवा नयाँ भवनबाट सुचारु भएसँगै अब आम नागरिकले उच्च स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नगर प्रमुख पवित्रा महतारा प्रसाईँले बताइन् । 

नयाँ भवनबाट दिइने स्वास्थ्य सेवा थप गुणस्तरीय हुने बताउँदै नगर प्रमुख प्रसाईँले भनिन्, ‘अब नगरवासीले उपचारमा चर्को शुल्क तिरेर निजी अस्पताल जानुपर्ने बाध्यता टरेको छ ।’ 

हाल नगर अस्पतालमा दैनिक औसत २५० देखि ४०० सम्म बिरामीहरूको उपचार भइरहेको छ ।  सङ्घीय सरकारको ५ करोड ५० लाख ७ हजार ७६० रुपैयाँको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा आएको हो । सो भवन निखिल निर्माण सेवा प्रालिले निर्माण गरेको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिएका छन् । अस्पतालको पूर्व भागमा साढे १८ करोड लागतमा थप तीन तले भवन निर्माण प्रक्रियामा रहेको उनले बताए । 

नगर अस्पतालबाट २१ प्रकारका स्वास्थ्य सेवा प्रवाह हुने छ । सरकारको स्वास्थ्य बिमा पूर्ण रूपमा लागु गरिएको, दैनिक ओपिडी जाँच, उपचार तथा परामर्श सेवा, प्रयोगशाला सेवा, भिडियो एक्स–रे सेवा, एक्स–रे सेवा, इसीजी सेवा, गर्भवती जाँच, निःशुल्क आइरन तथा क्याल्सियम वितरण तथा खोप सेवा, परिवार नियोजन सेवा छोटो तथा लामो अवधिका परिवार नियोजन सेवा, पाठेघरको मुखको क्यान्सरको जाँच, निःशुल्क सुरक्षित गर्भपतन सेवा, बच्चाहरूमा हुने कुपोषणको जाँच तथा व्यवस्थापन, सरकारले तोकेको ९८ प्रकारका निःशुल्क औषधि वितरण, नसर्ने रोगको जाँच, कीटजन्य रोगहरूको जाँच तथा उपचार सेवा, कोभिड रोगको निःशुल्क जाँच, बाल रोग (५ वर्ष मुनिका बालबालिकाहरू) को एकीकृत व्यवस्थापन, खोप कार्यक्रम (बच्चा जन्मदेखि २ वर्षसम्मका सम्पूर्ण खोपहरू नेपाल सरकारबाट तोकिएका), निरोगिता प्रमाणपत्र ,२४ घण्टे आकस्मिक सेवा , २४ घण्टे सुरक्षित प्रसूति सेवा, ८ वटा डायलिसिस मेसिनसहितको सेवा सञ्चालन गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल अधिकारीले जानकारी दिए । 

‘विश्वसनीय र गुणस्तरीय सेवा प्रदान गर्छौँ’, उनले भने, ‘विशेष परिस्थितिबाहेक रिफर दिइने छैन ।’ निकट भविष्यमा थाइराइड जाँच र रेबिजविरुद्धको भ्याक्सिनको व्यवस्थासमेत मिलाइने उनको भनाई छ । नगर अस्पतालका हाल ३६ जनशक्ति व्यवस्थापन भइसकेको छ । 

एक जना विशेषज्ञसहित तीन मेडिकल अधिकृत, प्यारामेडिक्स १२, नर्स सात, प्रयोगशालामा चार, रेडियोग्राफर एक, प्रशासन कर्मचारी एक, कार्यालय सहयोगी चार, सरसफाइ कर्मचारी दुई र सुरक्षा गार्ड एक गरी ३६ जनशक्ति व्यवस्थापन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत राजीव विष्टले जानकारी दिए । नगर प्रमुखको अध्यक्षतामा अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति गठन भइसकेको उनले बताए ।

 

फोटो क्याप्सन ः झापा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सभामुख देवराज घिमिरेद्धारा बिर्तामोड नगर अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै । अन्नपूर्ण

सम्बन्धित समाचार