ए’ डिभिजन लिगमा एपीएफको विजयी सुरुवात
विभागीय टोली एपीएफ क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार थ्री स्टार क्लबलाई २-० गोल अन्तरले हराउँदै एपीएफले सुखद सुरुवात गरेको हो।
एपीएफको जितमा मणिकुमार लामा र अर्मान्ड बिडोमले एक एक गोल गरे। खेलको ७२ औं मिनेटमा मणिले फ्रिकिकमार्फत गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए। मणिको फ्रिकिक बल थ्री स्टारका गोलकिपर अरुण ब्लोनले समात्न खोज्दा पोस्टको जाली चुमेको थियो।
खेलको ८६ औं मिनेटमा अर्मान्डले गोल गर्दै एपीएफलाई २-० को जित दिलाए। जितसँगै एपीएफले पहिलो खेलमा ३ अंक जोडेको छ। एपीएफले भने हारबाट लिगको सुरुवात गरेको छ।
त्यस्तै नवप्रवेशी क्लब चर्च ब्वाइज युनाईटेडले पनि लिगमा विजयी सुरुवात गरेको छ। च्यासल मैदानमा शनिबार भएको डेब्यु खेलमा चर्चले नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले हराएको हो। चर्चको जितमा आशिष चौधरी र फ्रान्कलिन क्विटे टलाले एक एक गोल गरे। पुलिसका रबि पासवानले एक गोल गरे।