सन् २०३५ सम्म विश्वको आधा जनसंख्या मोटोपनबाट पीडित हुनसक्ने
एजेन्सी । सन् २०३५ सम्म विश्वको आधा बढी जनसङ्ख्यामा मोटोपनको समस्या देखिन सक्ने बताइएको छ। वर्ल्ड ओबेसिटी फेडरेशनले यदि तत्काल कुनै कदम नचाल्ने हो भने सन् २०३५ सम्म विश्वको आधाभन्दा बढी जनसङ्ख्यामा मोटोपनको समस्या देखिने चेतावनी दिएको हो।
फेडरेशनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार चार अर्बभन्दा बढी व्यक्तिमा अधिक मोटोपनको समस्या हुनेछ। बालबालिकामा मोटोपनको दर अझ तीव्र गतिमा बढ्ने जनाएको छ । उक्त प्रतिवेदनले अफ्रिका र एशिया क्षेत्रका निम्न तथा मध्यम आय भएका देशमा यस्तो समस्या अझ बढी देखिने अपेक्षा समेत गरिएको छ। यसका साथै उक्त प्रतिवेदनले मोटोपनले गराउने खर्च वार्षिक ३/३ ट्रिलियनभन्दा बढी हुने अनुमान गरेको छ।
उक्त प्रतिवेदनले चार अर्बभन्दा बढी मानिस मोटोपनबाट प्रभावित हुने समेत जनाएको छ। एशियाका न्यून वा मध्यम आय भएका देशहरूले सबैभन्दा ठूलो वृद्धि देख्ने अपेक्षा गरिएको छ।
प्रतिवेदनले विशेषगरी बालबालिका र किशोरकिशोरीमा देखिएको बढ्दो दरलाई जोड दिएको छ। जसमा केटाकेटी दुबैमा सन् २०२० को तुलनामा मोटोपनको समस्या दोब्बरले बढ्ने अपेक्षा गरिएको छ।
वर्ल्ड ओबेसिटी फेडरेशनले अध्यक्ष प्रा। लुइस बौरले प्रतिवेदनका नतिजा देशहरूलाई अहिले नै कारबाही गर्न वा भविष्यमा परिणाम जोखिममा पार्ने स्पष्ट चेतावनी समेत दिएका छन्।
प्राध्यापक बौरले मोटोपन बढ्दै जानुलाई चिन्ताजनक अवस्था भन्दै विश्वभरका सरकार र नीति निर्माताले यसको कारक खोजी गर्दै तत्काल कदम चाल्नुपर्ने बताए।
विश्वभर मोटोपनको दरमा भएको वृद्धिले विश्वव्यापी अर्थतन्त्रमा महत्त्वपूर्ण प्रभाव पार्ने विश्लेषकहरू बताउँछन् । यसले कुल गार्हस्थ उत्पादनको ३ प्रतिशत बराबर हुने अनुमान गरेका छन् ।
फेडरेशनले मोटोपन सम्बन्धी नयाँ प्रतिवेदन आगामी सोमबार संयुक्त राष्ट्रसंघमा बुझाउने बताएको छ। मोटोपनका मुख्य कारणमा अधिक उच्च प्रशोधित खाना, विलासीपूर्ण जीवनशैली रहेको बताइएको छ।