२०८३ बैशाख ३ गते , विहीबार

झापामा राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताको उपाधि अर्जुनधारालाई, भद्रपुर उपविजेता

sajilo news
झापा
२०७९ फाल्गुन १७ गते , बुधबार
झापामा राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताको उपाधि अर्जुनधारालाई, भद्रपुर उपविजेता

भद्रपुर ।  १३ औं राष्ट्रपति रनिङ शील्ड झापा जिल्लस्तरीय छनोट प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । यसै साता सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ८ रजत र १० कांस्य गरी २९ मेडलसहित अर्जुनधारा नगरपालिकाले उपाधिमा कब्जा जमाएको हो । अघिल्लो वर्षको उपाधि विजेता भद्रपुर नगरपालिका यस वर्ष दोस्रो स्थानमा झरेको छ । भद्रपुरले ८ स्वर्ण, ६ रजत र ३ कांस्यसहित १७ पदक प्राप्त गर्‍यो । 

तेस्रो स्थानमा रहेको हल्दिबारी गाउँपालिकाले ७ स्वर्ण, एक रजत र ९ कांस्य गरी १७ पदक प्राप्त गरेको जिल्ला खेलकुद विकास समिति झापाले जनाएको छ । 

एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ विधामा सञ्चालन गरिएको प्रतियोगिताको चौथो स्थानमा मेचीनगर नगरपालिका र पाँचौँ स्थानमा बिर्तामोड नगरपालिका रहे । झापामा १५ वटा स्थानीय तह रहेका छन् ।

यस वर्ष झापाको कनकाई नगरपालिकाको कनकाई मावि, सूर्योदय बोर्डिङ र ग्लोबल बोर्डिङ स्कुलमा प्रतियोगिता सञ्चालन गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारीले जानकारी दिए । यो प्रतियोगितामा छनोट भएका खेलाडी १ नं प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुने उनले बताए ।

प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवाले उद्घाटन गरेको प्रतियोगिताको समापन सोमबार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा गरिएको थियो । समापन समारोहका बीच शील्ड, मेडल तथा प्रमाणपत्र वितरण गरिएको कार्यालय सचिव विष्णुकुमार नेम्बाङले जानकारी दिए । 

सम्बन्धित समाचार