२०८३ बैशाख ३ गते , विहीबार

भद्रपुर झापा गोल्डकप सुरु, भारतलाई हराउँदै आयोजक क्वाटरफाइलनमा 

sajilo news
झापा
२०७९ फाल्गुन ७ गते , आईतबार
भद्रपुर झापा गोल्डकप सुरु, भारतलाई हराउँदै आयोजक क्वाटरफाइलनमा 

पाहुना टोली भारत जयगाउँ फुटबल क्लबमाथि सहज जित निकाल्दै आयोजक भद्रपुर ब्लेजर्स मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपको अन्तिम आठमा प्रवेश गरेको छ । 
भद्रपुरस्थित मेची रंगशालामा आइतबार भएको उद्घाटन खेलमा पाहुना टोली भारत जयगाउँ फुटबल क्लबलाई २–० ले पराजित गर्दै आयोजक भद्रपुर ब्लेजर्स क्वाटरफाइनलमा प्रवेश गरेको हो । भद्रपुरका लागि दुवै गोल विदेशी खेलाडीले गरेका थिए । पहिलो हाफदेखि नै भारतमाथि दबाब बनाएर राखेका आयोजकले खेलको ५५ औँ मिनेटमा गोल गर्दै अग्रता लिए । 
खेलको ५५ औँ मिनेटमा आयोजकका तर्फबाट विदेशी खेलाडी स्टेफन समीरले गोल गरे । विदेशी खेलाडी मेसुके ओलोमोउलेको पासलाई डिबक्सभित्र भारतका गोल रक्षक विशाल लामाले विट गर्दा स्टफनले गोलमा परिणत गरे । दोस्रो गोल खेलको ८० औँ मिनेटमा आयोजकका ओलोमोउल गरे । 
खेलको सुरुवाती समयदेखि नै आयोजकले पाहुना टोली जयगाउँलाई दबाबमा राखेको थियो । यद्यपि पहिलो हाफमा आयोजकले गोल गर्न अवसर पाए पनि गुमाएका थिए । आयोजकले पाएका मौकालाई जयगाउँले विफल बनाइदियो । दोस्रो हाफमा आयोजकले जयगाउँको कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल गर्न सफल भए । पहिलो खेलको प्लेयर अफ द म्याच आयोजकका मेसुके घोषित भए । उनले नगद २० हजार र ट्रफी पुरस्कार पाए । 
सो पुरस्कारको सौजन्य भद्रपुर ८ नम्बर वडा अध्यक्ष मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो । विजयी भएको आयोजक भद्रपुर ब्लेजर्स अब क्वाटर फाइनलमा मंलबार संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

संकटा बाई पाएर सिधै क्वाटरफाइनल प्रवेश गरेको छ । सोमबारको खेल विभागीय टोली नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुने आयोजक गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
आइतबारबाट सुरु भएको गोल्डकप फागुन १६ गतेसम्म सञ्चालन हुनेछ । गोल्डकपमा तीन विदेशी टोलीसहित १० टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिए । गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । 
प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।

उपप्रधानमन्त्रीले गरे गोल्डकपको उद्घाटन

मुस्ताङ प्रथम भद्रपुर–झापा गोल्डकप आइतबारबाट सुरु भएको छ । भद्रपुरस्थित ऐतिहासिक मेची रंगशालामा सुरु भएको गोल्डकपको उद्घाटन उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन  गर्दै उपप्रधानमन्त्री लिङ्देनले मेची रंगशालाको अवस्था सुधारका लागि गोल्डकपको महत्त्वपूर्ण योगदान रहेको बताए । उनले मेची रंगशालाको विकासमा आफू सधैँ लाग्ने बताए ।

उद्घाटन समारोहमा आयोजक भद्रपुर–झापा गोल्डकपका अध्यक्ष दीपेश ढकालले गोल्डकप मेची रंगशालाको पुनर्जीवनका लागि भएको बताए । उनले यो गोल्डकपले भद्रपुरको निरासाजनक व्यापारलाई पनि सुधार गर्ने अपेक्षा गरेको बताए । 
गोल्डकप उद्घाटन समारोहमा अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले मेची रंगशालाले राष्ट्र तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा ठुलो योगदान पु¥याइसकेको बताए । ओझेलमा परेको यस रंगशालालाई यस गोल्डकपले पुनर्जीवन दिएको उनको भनाई छ । 
कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष चण्डीराज ढकाल, प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेलगायतले बोलेका थिए ।
 

सम्बन्धित समाचार