२०८२ फाल्गुन २८ गते , विहीबार

बन्दको कारण सुनसान सिक्किम, मुख्यमन्त्रीले भेटे गृहमन्त्रीलाई

नेपालीभाषीलाई ‘विदेशी’ को लाञ्छना

sajilo news
झापा
२०७९ माघ २५ गते , बुधबार
बन्दको कारण सुनसान सिक्किम, मुख्यमन्त्रीले भेटे गृहमन्त्रीलाई

झापा । उत्तरपूर्वी भारतको सिक्किम आज पूर्ण रुपमा बन्द छ । नेपालीभाषीलाई ‘विदेशी’ को लाञ्छना लगाएको विरोधमा जोईन्ट एक्सन काउन्सिल (संयुक्त कारबाही समिति)को आव्हानमा गरिएको एक दिने बन्दका कारण सिक्किम ठप्प बनेको हो । 

सिक्किमको राजधानी गान्तोकसहित नाम्ची, ग्याल्सिङ, पाक्योङ र सोरेङ जिल्लाका पसल तथा बजार, यातायात, विद्यालय, कलकारखाना, बैंक तथा वित्तीय संस्था बन्द रहेको त्यहाँ स्थानीय सञ्चारमाध्यमले जनाएको छ । भारतको सर्वोच्च अदालतले सुनाएको एउटा फैसलामा सिक्किममा बसोबास गर्ने नेपालीभाषीलाई ‘विदेशी’ भनिएको छ । 

सोसिएसन अफ ओल्ड सेटलर्स सिक्किम (एओएसएस)ले सन् २०१३ मा आयकर छुटको मागसहित सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । सर्वोच्चले उक्त संगठनको पक्षमा गत जनवरी १३ मा फैसला ग¥यो । त्यसमा बहुसङ्ख्यक नेपालीभाषीलाई ‘विदेशी’ भनी टिप्पणी गरिएपछि अहिले सिङ्गो सिक्किम आन्दोलित बनेको हो । 

यसअघि सत्ता विपक्षी दल एसडीएफ पार्टीका अध्यक्ष र पूर्व मुख्यमन्त्री पवनकुमार चामिलङले फ्रेबअरी ४ र ५ डाकेको बन्दको आंशिक प्रभाव मात्रै परेको थियो । सिक्किमका नागरिकलाई विदेशी भनिएको विरोधमा दार्जिलिङका नेपालीभाषीहरु पनि त्यसको विरोधमा प्रदर्शन गर्दै आइरहेको छ । यता सिक्किमका नेपालीमाथि विदेशी मूलको भनेर लागेको कलंग मेटाएरै छाड्ने प्रतिबद्धताको साथ नयाँ दिल्लीमा रहेका राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले)ले हिजो केन्द्रीय गृहमन्त्री अमित शाहसँग भेटघाट गरेका थिए । सो भेटघाटमा सिक्किमका विधान सभा अध्यक्ष अरुण उप्रेती, पर्यटन एवं नागरिक उड्डयन मन्त्री बीएस पन्तको पनि उपस्थिति रहेको थियो । 

गृह मन्त्रालयद्वारा सिक्किमका नेपाली समुदायलाई विदेशी मूलको भनेर उल्लेख गरेको सर्वोच्च न्यायालयको आदेश पत्रबारे पुनर्विचार याचिका दर्ता गरेकोमा मुख्यमन्त्री तामाङले गृहमन्त्री अमित शाहप्रति कृतज्ञता प्रकट गरेका थिए । मुख्यमन्त्री तामाङले आफ्नो फेसबुक पेजमार्फत यसबारे जानकारी गराएका थिए । 

‘सर्वोच्च अदालतले भर्खरै सुनाएको फैसलामा गरिएको अवलोकनको सम्बन्धमा केन्द्रीय गृहमन्त्री, गृह मन्त्रालयले देखाएको चासोको हामी सम्मान गर्छौँ र राज्य सरकारलाई प्रदान गरिएको सहयोगको लागि पनि आभारी छौँ,’  मुख्यमन्त्री तामाङले लेखेका छन् । 

 

सम्बन्धित समाचार