२०८३ जेष्ठ १६ गते , शनिबार

रतुवा खोलामा बोरामा फेला परेकी महिलाको घाँटी कसेर हत्या

sajilo news
झापा
२०८३ जेष्ठ १६ गते , शनिबार
रतुवा खोलामा बोरामा फेला परेकी महिलाको घाँटी कसेर हत्या

झापाको दमकमा हत्यापछि बोरामा बाँधेर खोलामा फालेको अवस्थामा महिलाको शव फेला परेको छ । दमक–१० स्थित सेतुमारी पुलमुनि महिलाको शव फेला परेको हो । बोरामा बाँधेर रतुवा खोलाको पानीमा फालेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । शनिवार बिहान ११ बजे सो घटनाबारे प्रहरीले जानकारी पाएको थियो । महिलाको कपाल र हात बाहिर निक्लेको र शरीर बोराभित्र रहेको अवस्थामा शव भेटिएको जनाइएको छ ।
अन्दाजी ३०–३२ वर्षकी जस्तो देखिने महिलाको पहिचान खुलिसकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सेतुमारीमा रहेको रतुवा खोलाको पुलमुनि बगिरहेको पानीमा तत्काल नाम थर, वतन नखुलेको २/३ दिन अगाडीदेखि पानीमा रही ढाडिएको, रातो भेस्ट, जिन्सको पेन्ट लगाएको महिलाको शव सेतो प्लास्टिकको बोरामा पोको पारी शंकास्पद अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

पाइपले घाँटीमा कसेर उनको हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । उनको घाँटीमा पाइपले कसेको चिन्ह रहेको प्रहरीले जनाएको छ । ती महिलाको शव बगेर आएको नभई हत्या गरेर रतुवाको पुलमाथि फालेको हुनसक्ने आशंका गरिएको छ । पुलमाथिबाट फाल्दा बोरा फुटेर हात र कपाल बाहिर निस्किएको हुनसक्ने अनुमान गरिएको छ । इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतको कमान्डमा अनुसन्धान टोली घटनास्थल खटि गई घटनाको सूक्ष्म अनुसन्धान भइरहेको छ ।

मृतकको हालसम्म पहिचान नखुली सनाखत समेत नभएकोले मृतकलाई चिन्नुहुने अभिभावक, आफन्तजन, साथीभाइ, छरछिमेकहरूले नजिकको प्रहरी कार्यालय वा सम्पर्क नम्बर १००, ९८५२६७०६०९, ९८५२६९००३१, ९८५२६९०२३२ मा खबर गरिदिई अनुसन्धानमा सहयोग गरिदिनुहुन प्रहरीले अनुरोध गरेको छ । ती महिलाको बायाँ हातमा ट्याटुसहितको फोटो रहेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतसहित प्रादेशिक अस्पताल भद्रपुरबाट फरेन्सिक डाक्टरसहितको टोली घटनास्थलतर्फ खटिएर घटनास्थल अनुसन्धानपश्चात् सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमको लागि वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाइएको छ । हालसम्म पनि लाशको सनाखत नभएको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

 

सम्बन्धित समाचार