हिउँदे वर्षा घट्दा बढ्यो प्रदूषण
माघ पहिलो साता, काठमाडौँको तापक्रम घट्दो छ। र, पनि हिउँदे वर्षा हुन सकेको छैन। वर्षा नहुँदा मुलुकमा अत्यधिक प्रदूषण र सुक्खा बढेको छ। काठमाडौँ उपत्यकामा प्रदूषणको मात्रा निकै बढेको विज्ञहरूको भनाइ छ।
अर्को सातादेखि भने हिउँदे झरी पर्ने प्रबल सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्। मौसम पूर्वानुमानअनुसार पश्चिम नेपालमा सोमबारदेखि वर्षा सुरु हुनेछ। काठमाडौँमा मङ्गलवारदेखि वर्षा हुनेछ। काठमाडौँमा मङ्गलवारदेखि बिहीबारसम्म लगातार वर्षा हुने अनुमान गरिएको छ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा। विनोद पोखरेलका अनुसार करिब साढे तीन महिनादेखि पानी पर्न सकेको छैन। जसका कारण उपत्यकामा प्रदूषणको मात्रा अत्यधिक बढेको छ।
तर, सोमबारबाट पश्चिम नेपालमा र मङ्गलवारबाट काठमाडौँमा पानी पर्ने सम्भावना एकदमै धेरै छ। पोखरेलका अनुसार दुई वटा विश्वव्यापी मौसम पूर्वानुमान मोडलले हिउँदे वर्षा हुने देखाएको हो।
‘युरोपियन मोडल (ईसीएमडब्लूएफ) र अमेरिकन मोडल (जीएफएस) बाट हेरिएको हो। दुवै विश्वव्यापी मोडल हुन’ पोखरेलले भने ‘यी मोडलहरू मौसम पूर्वानुमानमा विश्वसनीय मानिन्छ। तीन दिन लगातार पानी पर्ने देखिन्छ।’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।