२०७९ आश्विन १५ गते , शनिबार

क्रान्तिकारी माओवादीका कार्यकर्ताले भ्याट बिल भएको सामानसहित पिकअप नियन्त्रणमा लिएपछि विवाद

sajilo news
झापा
२०७९ आश्विन ६ गते , विहीबार
क्रान्तिकारी माओवादीका कार्यकर्ताले भ्याट बिल भएको सामानसहित पिकअप नियन्त्रणमा लिएपछि विवाद

मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट युवा संगठन युवा लिग नेपालले भ्याट बिल भएको सामानसहित पिकअप गाडी रोकेर नियन्त्रणमा लिएपछि विवाद भएको छ। व्यवसायीसँग भएको विवादका क्रममा संगठनका राजेन्द्र राई घाइते भएका छन्। उनको अनुहारमा गम्भीर चोट लागेको छ।  

घटनाअनुसार चारआली(केचना सडक खण्डअन्तरगत भद्रपुर-२ स्थित देउनिया पुल नजिकै गएराति लत्ताकपडा लोड गरिएको प्रदेश १-०१-००१ च ७७९५ नम्बरको पिकअप युवा लिग नेपालका केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष रविन राईको नेतृत्वको कार्यकर्ताहरूले रोकेका थिए।

सो सामान भारतबाट भन्सार छलेर नेपाल भित्राएको आशङ्कामा संगठनका कार्यकर्ताहरूले सडकमै पिकअप रोकेर सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भद्रपुरलाई बोलाएर जिम्मा लगाएका थिए। सशस्त्र प्रहरीले लत्ताकपडासहितको पिकअप भद्रपुर भन्सार कार्यालय लिएर गएका थिए।

संगठनका कार्यकर्ताहरूले लत्ताकपडासहितको पिकअप राजश्व अनुसन्धान कार्यालय इटहरी बुझाउनुपर्ने भन्दै बिहीबार बिहान करिब ८ बजे भन्सार कार्यालय गएका थिए। भ्याट बिल भएको सामान नियन्त्रणमा लिएको भन्दै संगठनका कार्यकर्तासँग व्यवसायीको विवाद भएको थियो। 

विवादका क्रममा दुवै पक्षबीच सामान्य झडप हुँदा संगठनका राई घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। झडप भएसँगै सशस्त्र र नेपाल प्रहरीले घटनालाई साम्य बनाउँदै संगठनका कार्यकर्ताहरूलाई सुरक्षा दिएर भन्सारभित्रै राखेका थिए भने घाइतेलाई उपचारका लागि अस्पताल पठाएका थिए।

अन्ततः नियन्त्रणमा लिएका भ्याट बिल भएको लत्ताकपडासहित पिकअप भन्सारले बुझ्न नमानेपछि सशस्त्र र नेपाल प्रहरीले थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी बुझाइसकेको छ।

यता सामान धनी अरुण साहका अनुसार भद्रपुरको अनुज इन्टरप्राइजेजबाट ज्योति कपडा पसल र जय माता वस्त्रालय बनियानीको नाममा भ्याट बिल जारी गरी सामान खरिद गरी पिकअपमा हालेर लगिरहेको अवस्थामा गुण्डागर्दी शैलीमा कार्यकर्ताहरूले चालकलाई खुकुरी देखाएर सामान नियन्त्रणमा लिएको आरोप लगाए।

मोटरसाइकलमा आएका क्रान्तिकारी माओवादीका कार्यकर्ताहरूले सडकमा पिकअप रोकेर १५ लाख रुपैयाँ बार्गेनिङ गरेको उनले आरोप लगाए। 

व्यापारी साहले भने, 'भ्याट बिल भएको सामानको किन पैसा दिन भन्दै घटनास्थलमा पनि विवाद भयो, उनीहरूको सङ्ख्या बढी रहेकाले केही गर्न सकिएन। लामो समय बार्गेनिङमा कुरा नमिलेपछि उनीहरूले उल्टै सशस्त्रलाई बोलाएर पिकअप जिम्मा लगाए।' 

पार्टीको नाममा लिएर गुण्डागर्दी शैलीमा सामान जफत गरेको उनको भनाइ छ। 'दसैँ खर्च चाहिएको हो भने पार्टीको रसिद लिएर पसलमा आउनु पर्‍यो बाटोघाटोमा धम्काउन त मिलेन नि', उनले भने। 

त्यस्तै युवा लिग नेपालका केन्द्रीय सदस्य राईले राजश्व छलेर सरसामान तस्करी भइरहेको सूचनाका आधारमा पार्टीका कार्यकर्ताले सामानसहितको पिकअप नियन्त्रणमा लिएको बताए।

पार्टीको निर्देशन अनुसार काम गरेको उनले बताए। उनले भने, 'भन्सारभित्रै पत्रकार सम्मेलन गरी घटनाको भण्डाफोर गर्ने अभियान थियो, तर केही अराजक समूहले भन्सार अगाडि नै हामीमाथि आक्रमण गर्यो, यो घटना अति निन्दनीय छ।'  पार्टीका कार्यकर्तामाथि आक्रमण गर्नेकोविरुद्ध प्रहरीमा उजुरी दिने उनको भनाइ छ।   

सम्बन्धित समाचार