२०८३ भाद्र १५ गते , सोमबार
झापा र ताप्लेजुङमा करेन्ट लगाएर माछा मार्दा दुई जनाको मृत्यु
झापा र ताप्लेजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा दुई जनाको मृत्यु भएको छ । झापाको अर्जुनधारा नगरपालिका- १० का २७ वर्षीय इन्द्र चेम्जोङको स्थानीय सेती खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको छ ।
करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर घाइते भएका चेम्जोङलाई उपचारको लागी झापाको बिएण्डसी अस्पताल लगिएको र उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ ।
त्यस्तै ताप्लेजुङको सिदिङवा गाउँपालिका- ३ का २५ वर्षीय विक्रम ताम्लिङको करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको छ । सोमवार दिउँसो माछा मार्न भनी साम्सिङ खोलामा गएका ताम्लिङको करेन्ट लागेर मृत्यु भएको भन्ने मङ्गलवार बिहान खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली घटनास्थल पुगेका थिए ।