२०८३ भाद्र १५ गते , सोमबार

रोकिएन काँकडभिट्टामा तस्करी, प्रहरीकै सेटिङमा सुपारी निकासी

sajilo news
झापा
२०७९ आश्विन ३ गते , सोमबार
रोकिएन काँकडभिट्टामा तस्करी, प्रहरीकै सेटिङमा सुपारी निकासी

पूर्वी नेपालको काँकडभिट्टा नाकाबाट प्रहरीकै सेटिङमा दैनिक रुपमा भारततर्फ सुपारी तस्करी भइरहेको पाइएको छ। सीमा सुरक्षाका लागि भन्दै खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको सेटिङमै खुलेआम सुपारी तस्करी हुने गरेको तथ्य फेला परेको छ।

सीमा नाकामा खटिएका प्रहरी र तस्करहरूको सेटिङमा अहिले पूर्वी नाका काँकडभिट्टाबाट दैनिक रुपमा भारततर्फ अवैध सुपारी निकासी हुने गरेको पाइएको हो ।

विभिन्न मुलुकहरूबाट नेपाल भित्रिएको सुपारी अवैध रुपमा भारततर्फ निकासी भइरहँदा समेत सम्बन्धित निकायले यसतर्फ चासो नदिएको पाइएको छ। अघिल्लो महिना सम्म मोरङबाट तस्करी भइरहेको सुपारी प्रहरीले पक्राउ गरेसँगै अहिले झापाको पूर्वी नाकाबाट खुलेआम तस्करी हुने गरेको छ। अघिल्लो महिना विराटनगर महानगरपालिका–१८ बाट अवैध सुपारी बोकेको आठ वटा भारतीय नम्बर प्लेटका ट्रक नियन्त्रणमा लिए सँगै हाल झापाको पूर्वी नाका सञ्चालनमा आएको पाइएको छ।

नेपालमा भन्दा भारतमा सुपारीको मूल्य प्रतिकिलो झन्डै १ सय रुपैयाँ बढी छ। भारतमा सुपारीको माग अत्यधिक रहेका कारण अवैध रुपमा भारततर्फ सुपारी तस्करी हुने गरेको हो । राजस्व समेत छली गर्दै पूर्वी नाकाबाट दैनिक रुपमा सुपारी तस्करी बढेसँगै सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी माथि प्रश्न उठेको छ। यसअघि रातिको समयमा हुने गरेको सुपारी तस्करी चाडपर्व नजिकिँदै जाँदा दिउँसै हुने गरेको छ। गत साउन महिनामा एक सातामा प्रदेश १ का विभिन्न स्थानबाट ठुलो मात्रामा सुपारी बरामद भएसँगै रोकिएको सुपारी पुनः अवैध रुपमा भारततर्फ निकासी हुन थालेको हो । प्रहरीको सेटिङ बिना कुनै हालतमा सुपारी तस्करी हुन नसक्ने र अहिले सेटिङ मिलाएर सुपारी तस्करी भइरहेको स्थानीय बासिन्दाको आरोप छ।

सुपारी तस्करीमा महिला मात्रै नभएर अपाङ्ग व्यक्तिहरूको समेत प्रयोग हुने गरेको पाइएको छ। नेपाल तथा भारतका महिलाहरूले शरीरका विभिन्न भागमा पोको पारेर प्रहरीकै सेटिङमा तस्करी हुनुले सुरक्षा निकायमाथि समेत गम्भीर प्रश्न खडा भएको छ।

सम्बन्धित समाचार