संविधान दिवसको अवसरमा न्यायिक समितिको भूमिका बारे अन्तरक्रिया
भद्रपुर । संविधान दिवसको सन्दर्भमा झापाको चन्द्रगढीमा मानव अधिकारको संरक्षणमा न्यायिक समितिको भूमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल बार एसोसिएसन झापाको आयोजनामा सोमबार सम्पन्न कार्यक्रममा मानव अधिकार तथा जनसरोकार समिति ने.वा.ए. झापा संयोजक टंकप्रसाद दंगालले मानव अधिकार र जनसरोकारका विषयमा अवधारणा पत्र प्रस्तुत गरेका थिए ।
उनले मानव अधिकारका विषयमा संविधानले दिएको अधिकारहरुको विषयमा जानकारी गराउँदै विवाद समाधानका विषयमा स्थानीय तहका पालिका स्तरका न्यायिक समितिले न्यायिक विवाद समाधान गर्नु सक्रिय रहेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका सत्य निरूपण तथा मेलमिलाप आयोगका पूर्व सदस्य लीला उदासी, ने.वा.ए. केन्द्रीय उपाध्यक्ष सुरज खत्री, पूर्व उपाध्यक्ष अशोक पोखरेल, वरिष्ठ अधिवक्ताहरू दामोदर सापकोटा, टंक उप्रेती, गजेन्द्र आचार्य लगायतले मन्तव्य राखेका थिए ।
हरि अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत कमला आचार्य र सञ्चालन हेमकला कट्टेलले गरिन । कार्यक्रममा सहभागी १५ वटै स्थानीय तहका न्यायिक समिति पदाधिकारीले कानुन प्रावधानका बारे आ–आफ्नो धारणा राखेका थिए ।