झापाका १३१ वडाध्यक्षलाई संवैधानिक तथा कानुनी प्रावधानसम्बन्धी प्रशिक्षण
प्रदेश नम्बर १ का १४ जिल्लाका निर्वाचित जनप्रतिनिधिलाई प्रदेश प्रशिक्षण केन्द्र कलबलगुरी झापाले विद्यमान संवैधानिक तथा कानुनी प्रावधानसम्बन्धी विज्ञहरूबाट प्रशिक्षण गराउँदै आएको छ । केन्द्रले १४ जिल्लाका जनप्रतिनिधिमध्ये प्रमुख र उपप्रमुखलाई एकै थलोमा राखेर प्रशिक्षण दिएको थियो भने हाल वडाध्यक्षहरूका लागि सम्बन्धित जिल्लामै तालिम सञ्चालन गरिरहेको छ ।
केन्द्रका निर्देशक विष्णुकुमार कार्कीले शुक्रवारदेखि झापामा सुरु भएको कार्यक्रमलाई सम्बोधन गर्दै ११ वटा जिल्लाका वडाध्यक्षहरूलाई यसअघि नै सो तालिम प्रदान गरेको बताए । तीन दिनसम्म चल्ने तालिममा जिल्लाका १३१ वटा वडाका वडाध्यक्षहरू सहभागी भएका छन् ।
उनले वडाध्यक्षहरूको भूमिका सङ्घीयता कार्यान्वयनमा महत्त्वपूर्ण हुने हुँदा उनीहरूले गर्ने कामहरूमा कानुनी अड्चनका कारण समस्या नहोस्, काम, कर्तव्य र अधिकार क्षेत्रका बारेमा स्पष्ट भएर काम गर्न सहज होस् भन्ने उद्देश्यले तालिमको आयोजना गरेको बताए ।
जन्मदेखि मृत्युसम्मको सिफारिसको जिम्मा वडाध्यक्षलाई हुने भएकाले उनीहरूलाई जिम्मेवार, सामाजिक सुरक्षा, योजना तर्जुमा, कार्यालय व्यवस्थापन, अनुगमन र उपभोक्तासँग गरिने कार्यका बारेमा आवश्यक पर्ने कानुनलगायत १२ वटा विषयवस्तुमा प्रशिक्षण प्रदान गरिने उनको भनाई छ ।
जिल्ला समन्वय समिति झापाको संयोजनमा आयोजित कार्यक्रममा १३१ वडाध्यक्षहरूलाई तीन वटा सभा हलमा राखेर प्रशिक्षण भइरहेको छ । जिसस झापाका संयोजक विश्वनाथ बरालले तालिमले जनप्रतिनिधिको व्यक्तित्व विकाससँगै कार्यक्षमतामा समेत वृद्धि गराउने बताउँदै तालिममा सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गरे ।
उनले तालिमले जिल्लाभरका वडाहरूमा काम गर्ने तौरतरिका र सेवामा एकरूपता ल्याउने विश्वास गर्दै अप्ठ्यारो परिस्थितिमा एक अर्कासँग समन्वय गर्न वडाध्यक्षहरूलाई निर्देशन दिए । शुक्रवारबाट सुरु भएको तालिम असोज २ गतेसम्म चल्नेछ । तालिमको सहजीकरण शशी राई, प्रेम राजवंशी, गणेश तिम्सिना र सुमन ढकाल गर्दैछन् । केन्द्रले पछिल्लो समय कर्मचारी, जनप्रतिनिधिलगायतलाई लक्षित गरी विभिन्न तालिमहरू गर्दै आएको जनाएको छ ।