२०८३ बैशाख ३ गते , विहीबार

किशोरीमाथि सामूहिक बलात्कार गर्ने एक आरोपी आठ वर्षपछि पक्राउ

sajilo news
झापा
२०७९ भाद्र ३१ गते , शुक्रबार
किशोरीमाथि सामूहिक बलात्कार गर्ने एक आरोपी आठ वर्षपछि पक्राउ

मोरङको केराबारीमा किशोरीमाथि सामूहिक बलात्कार गरिएको घटनामा संलग्न एकजना पक्राउ परेका छन् । किशोरीमाथि सामूहिक बलात्कार भएको आठ वर्षपछि केराबारी गाउँपालिका ८ का ३१ वर्षीय अशोककुमार भनिने गिरिजा बस्नेत पक्राउ परेका हुन् । बस्नेतसहित ३ जनाले १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विद्यालयबाट घर फर्कँदै गरेकी किशोरीलाई २०७१ साल जेठ ९ गते तीन जनाले मोटरसाइकलमा राखी जङ्गलमा पुर्‍याएर बलात्कार गरेका थिए । घटनामा संलग्न प्रकाश थापा त्यति बेलै पक्राउ परे । दुईजना फरार थिए ।

घटनाको आठ वर्षपछि बस्नेत पक्राउ परेका छन् । अर्का एकजना अझै फरार छन् । सामूहिक बलात्कार घटनामा प्रहरीले चलाएको जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङले २०७२ चैत ३ गते तीन जनालाई नै जनही १३ वर्ष कैद सजाय र २५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

अदालतले दोषी ठहर गरे पनि घटनामा संलग्न दुईजना कैद तथा जरिवाना भुक्तान नगरीकन फरार थिए । बस्नेतलाई भने इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमलाको नेतृत्वमा खटिएको टोलीले केराबारीबाट पक्राउ गरेको हो । बस्नेतलाई पक्राउ गरेर बिहीबार पेस गरिएपछि अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार अझैसम्म फरार रहेका एकजना प्रतिवादीको खोजी जारी राखिएको छ ।

सम्बन्धित समाचार