२०८३ बैशाख ३ गते , विहीबार

मेची पुलमा दिनहुँ जाम, सीमा नाका अस्तव्यस्त

sajilo news
पार्थ मण्डल
२०७९ भाद्र ३० गते , विहीबार
मेची पुलमा दिनहुँ जाम, सीमा नाका अस्तव्यस्त

झापा । पूर्वी नेपालको काँकडभिट्टा–पानीटंकी सीमा नाका अस्तव्यस्त बन्दै गएको छ। नेपाल–भारतको अन्तर्राष्ट्रिय सीमा नाका जोड्ने मेची पुल सिटी रिक्सा र पोके तस्करले कब्जामा लिँदा अहिले सो नाका अस्तव्यस्त बन्दै गएको हो।

स्थानीय सुरक्षाकर्मीले मेची पुलमा आवश्यकता र क्षमता भन्दा बढी सिटी रिक्सा चलाउन अनुमति दिनु र पोके तस्करहरूले समेत सरसामान भण्डारण गर्ने स्थल पुललाई बनाउँदा आउजाउ गर्ने यात्रुहरूले अनावश्यक सास्ती झेल्नु परेको छ। रिक्सा र पोके तस्करका कारण पुलमाथि दैनिक ट्राफिक जाम हुन थालेको छ।

मेची पुल नेपाल–भारत प्रवेशद्वार मात्र होइन छिमेकी राष्ट्र भुटान, बंगलादेश, म्यानमार जस्ता देशहरूसँग जोडिने मुख्य राजमार्ग पनि हो। सो मुख्य राजमार्गमा पर्ने मेची पुलबाट उपचारार्थ भारत र नेपाल जाने आउने बिरामी, पर्यटक, व्यवसायी, विद्यार्थी तथा विभिन्न गन्तव्यको लागि मानिस आउजाउ गर्ने गर्दछन्। काँकडभिट्टादेखि भारतको पानिट्यांकीसम्मको दुरी करिब २ किलोमिटर छ। उक्त २ किलोमिटर यात्रा गर्न मेची पुलमा यात्रुलाई दुई पटकसम्म सिटी रिक्सा परिवर्तन गर्नुपर्ने बाध्यता एकातिर छ भने अर्कोतर्फ पैदल यात्रा गर्दा कतिखेर सिटी रिक्साको कारण दुर्घटनामा परिने हो भन्ने डर रहन्छ। पुरानो मेची पुलको दुरी ५८३ मिटर रहे पनि पुल पार गर्न झन्डै आधा घण्टा समय खर्चनुपर्ने बाध्यता छ।

किनभने, दुवै देशका सिटी रिक्सा पुलमै आएर पार्किङ गरी यात्रु ओसारपसार गर्दै आइरहेका छन्। साना सवारीसाधन पनि यही पुल भएर आफ्नो गन्तव्यतर्फ जान्छन्। ‘सीमा नाकाको पुल नै सिटी रिक्साको पार्किङस्थल बन्यो, स्थानीय सुरज विश्वकर्माले भने, ‘एउटा सानो गाडी पुलमा छिरेपछि रिक्साका कारण जाम नै हुन्छ, जसले गर्दा पैदल हिँड्नै सकिँदैन।’ ‘तातो घाम त्यसमाथि पुलमाथि नै ट्राफिक जाम, पुलमाथिको पार्किङस्थल तत्काल प्रहरी, प्रशासनले हटाउनु पर्‍यो,’ उनले भने। पुलमाथि जाम परेपछि कुनै दिन यात्रुलाई गन्तव्यमा पुग्न पुलमै १ घण्टा लाग्छ, नत्र १० मिनेटमै सहजै जान सकिन्छ, स्थानीय बाबुराम कार्कीले भने। 

एसियन हाइवेअन्तर्गत मेची पुलको उत्तारपट्टि ६ लेनको ‘मितेरी पुल’ निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि सर्वसाधारणका लागि खुल्ला गरिएको छैन। दुई देशबीचको आपसी समन्वय र सहकार्यको अभावले उक्त पुल पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको हो।  एसियन हाइवेअन्तर्गत बनेको उक्त पुलमा मेची भन्सारमा प्रवेश गर्ने मालवाहक सवारी तथा सरकारी नम्बर प्लेटका सवारी बाहेक अन्य सवारीलाई प्रवेश अनुमति दिइएको छैन। निजी नम्बर प्लेटका साना गाडीहरू पनि पुरानो पुलबाटै आउजाउ गरिरहेका छन्।

सिटी रिक्साको पार्किङ र साना व्यापारीले पुलमाथि सरसामानको डम्पिङ साइड बनाउँदा सीमा नाका अस्तव्यस्त बनेको मेचीनगर–६ का वडाध्यक्ष अर्जुन कार्कीले बताए। 

‘पुलमाथिको ट्राफिक व्यवस्थापनमा प्रहरीले चासो दिनुपर्छ, अनि मात्र यात्रुले राहत पाउँछन्,’ वडाध्यक्ष कार्कीले भने, ‘६ लेनको नयाँ पुलको उद्घाटनका लागि आवश्यक पहल भइरहेको छ, त्यो पुल सञ्चालनमा आएपछि मात्र यी समस्या टर्छन्।’ सीमा नाकामा अहिले काँकडभिट्टातर्फ चार सय र भारत तर्फ करिब ५ सय बढी सिटी रिक्सा सञ्चालनमा छन्। दसैं, तिहार नजिकिएकोले भारतबाट किराना तथा अन्य वस्तुहरू आयात गर्ने साना व्यापारीहरूको चहलपहल पनि त्यतिकै छ। जसले सीमा नाकामा झन् भिडभाड बढेको छ।

जबसम्म ६ लेनको नयाँ पुल सञ्चालनमा आउँदैन, तबसम्म पुरानो पुलमा भिडभाड हुन्छ। साना निजी, सवारी, मोटरसाइकल, साइकल, सिटी रिक्सा, पैदलयात्रीले त्यही पुल प्रयोग गर्नुपर्ने बाध्यता रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी ज्ञान कुमार महतोले बताए।

सम्बन्धित समाचार