मेचीनगरमा विद्यार्थीलाई बस नचढाउने विवाद समाधान, यस्तो छ ५ बुँदे निर्णय
(विश्वास दाहाल) मेचीनगर । विद्यार्थीलाई बस चढाउने विषयमा भएको विवाद समाधान भएको छ । बस व्यवसायी र विद्यार्थीबीच बसमा चढाउने विषयमा निर्णय भएको हो ।
शनिवार मेचीनगर नगरपालिका कार्यालयमा बसेको विद्यार्थी, बस व्यवसायी र मेचीनगर नगरपालिकाबीच भद्र सहमति गरिएको छ । सहमतिपछि अब विद्यार्थीलाई सहज रुपमा बसहरूले चढाएर गन्तव्यसम्म पुर्याउने छन् ।
विद्यार्थीलाई कलेज जाँदा सार्वजनिक बसले नचढाउँदा मेचीनगरका विद्यार्थी केही महिनादेखि आन्दोलित थिए । तर, नगरपालिकामा बसेको सर्वपक्षीय भेलाले बसले कम्तीमा २० जना विद्यार्थीलाई चढाउने सहमति भएको विद्यार्थी सङ्गठन अनेरास्ववियु जिल्ला कार्यालय सचिव सन्तोष धमलाले बताए ।
छलफलमा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना पोखरेल उप्रेती, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी ज्ञानकुमार महतो, बस व्यवसायी संघका अध्यक्ष विष्णु श्रेष्ठ, ट्राफिक प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव निरीक्षक लीलाकुमार श्रेष्ठ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य खडानन्द भण्डारी, बस व्यवसायी कमल साह, खडानन्द भण्डारी, हीमा दाहाल, चिरञ्जीवी रेग्मी, विद्यार्थी नेता संस्कृति रिजाल, आशिष् पौडेल, ईश्वर रिजाल, योगेश भण्डारी, सन्देश पौडेल, आर्यन पौडेल, विनीता न्यौपाने सहभागी थिए ।
यस्तो छ निर्णय
१) काँकडभिट्टाबाट इटाभट्टादेखि धुलाबारी चारआली बिर्तामोड जाने विद्यार्थीहरूले कलेज समयमा राज्यले निर्धारण गरेको भाडा लिई निर्धक रुपमा यात्रा गर्न पाउने ।
२) विद्यार्थीहरूले अनिवार्य रुपमा परिचय पत्र देखाई तोकेको भाडा तिर्नुपर्ने ।
३) विद्यार्थीहरूले विद्यालय, कलेज समयमा छुट्ने सबै बसहरूमा सामान्यता २० जना विद्यार्थी सङ्ख्या मिलाएर चढ्ने व्यवस्थापन गर्ने ।
४)बस व्यवसायीहरूले बस बिसौनी ठाउँहरूमा विद्यार्थीहरू भए अन्यन्त्र रोक्ने गरेको गुनासो भएका हुँदा त्यसो नगर्न र बस स्ट्यान्डमै रोक्नुपर्ने ।
५) विद्यार्थीहरू र व्यवसायीहरुबीच उपरोक्त बमोजिमको सहमति कार्यान्वयन गर्न(गराउने बस व्यवसायी, प्रहरी प्रशासन तर्फबाट अनुसन्धान गर्ने ।