भद्रपुरमा स्कुटर चोरी गरेको आरोपमा दुईजना पक्राउ
झापा । भद्रपुरमा स्कुटर चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका- १० निवासी अन्दाजी ३१ वर्षीय प्रकाश खडका र सोही ठाउँका अन्दाजी २८ वर्षीय विकास राजवंशी रहेको प्रहरीले जनाएको छ । भद्रपुर- ७ निवासी प्रज्वल ओझाको घरबाट गएराति मे ११ प ८८७ नम्बरको स्कुटर चोरी भएको थियो ।
घरबाटै स्कुटर चोरी भएपछि ओझाले आफ्नो स्कुटरको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राख्दै चोरी भएको घटना सार्वजनिक गरेका थिए । फेसबुकमा चोरी भएको स्कुटरको फोटो भाइरल भएपछि बिहीबार बिहान साढे १० बजे भद्रपुर- ६ स्थित गिरी चोक नजिकै स्थानीय युवाहरूले स्कुटरको पहिचान गर्दै खड्कालाई नियन्त्रणमा लिएको थियो । खडकाले स्कुटर सडकमा डोउराउँदै लगिरहेका थिए ।
स्थानीय युवाहरूले स्कुटरसहित चोरलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय भद्रपुरलाई खबर गरेका थिए । त्यसपछि स्थानीयले स्कुटरसँगै चोरलाई प्रहरीलाई जिम्मा लगाए । चोरी आरोपमा पक्राउ परेका खड्काले विकास राजवंशीले मोटरसाइकल दिएको प्रहरी समक्ष बयान दिएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो ।
पक्राउ परेका राजवंशीले स्कुटर चोरी घटनामा आफ्नो कुनै संलग्नता नरहेको प्रहरी समक्ष बयान दिँदै आएको छ । पक्राउ परेका दुवै जनालाई वडा प्रहरी कार्यालयले आवश्यक अनुसन्धानका लागि प्रहरी कार्यालय झापा पठाइसकेको छ । यता प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक कैलाश अधिकारीले अहिले घटनाको विषयमा केही भन्न नमिल्ने बताए । घटनाको अनुसन्धान जारी रहेको उनको भनाई छ ।