झापामा रोकिएन अवैध उत्खनन, तीन वटा ट्याक्टर नियन्त्रणमा
झापामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने तीन वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधवार बिहान ९:२० बजे मेचीनगर ७ पालिया खोलाबाट प्रदेश १–०१–००२ त १०८ नम्बरको ट्याक्टरले अवैध रुपमा बालुवा उत्खनन गरी लाने क्रममा अस्थायी प्रहरी पोस्ट ईटाभट्टाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि मेचीनगर नगरपालिकाको कार्यालयमा बुझाएको छ ।
त्यस्तै बुधवार नै साँझ ५:१५ बजे अर्जुनधारा ७ फुलमति खोलाबाट अवैध रुपमा मे १ त ५८७९ र मे १ त ७२१४ नम्बरको दुई वटा ट्याक्टरले ढुङ्गा, बालुवा उत्खनन गर्दागर्दै प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि अर्जुनधारा नगरपालिकाको कार्यालयमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सरकारले असारदेखि भदौ मसान्तसम्म खोला बन्द गरे पनि ढुङ्गा, बालुवाको उत्खनन रोकिएको छैन ।