२०८३ भाद्र १५ गते , सोमबार

जयेन्द्र साहित्य सेवा कोषद्वारा कृति र प्रतिभा छनोट समिति गठन, पुरस्कारको राशि वृद्धि

sajilo news
झापा
२०७९ भाद्र २२ गते , बुधबार
जयेन्द्र साहित्य सेवा कोषद्वारा कृति र प्रतिभा छनोट समिति गठन, पुरस्कारको राशि वृद्धि

बिर्तामोड । जयेन्द्रप्रसाद सप्राई साहित्य सेवा कोषले यो वर्ष पुरस्कृत गरिने कृति तथा विभिन्न पुरस्कारका लागि प्रतिभा छनौट समिति बनाएको छ । कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईँको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले कृति तथा व्यक्ति छनौटका लागि समिति गठन गर्नुका साथै पुरस्कारको विधा थप गरेको छ भने यसअघि वितरण गरिँदै आएका पुरस्कारको राशि समेत वृद्धि गरेको छ ।

संस्थाले २०७८ सालमा प्रकाशित कृतिहरू मध्येबाट बर्षोत्कृष्ठ कृति छनौटका लागि संस्थाका उपाध्यक्ष विष्णुकुमार भट्टराईको संयोजकत्वमा अध्यक्ष गोपीकृष्ण सप्राई र सचिव राजेन्द्र सङ्ग्रौला सदस्य रहेको समिति गठन गरेको बैठकले धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कारका लागि लोकराज ढकालको संयोजकत्वमा रेजिना गौतम सदस्य रहेको समिति गठन गरेको छ । पत्रकारिता पुरस्कार छनौट समितिमा संयोजकले एक जना सदस्य थप गर्न सक्ने संस्थाका अध्यक्ष प्रसाईँले जानकारी दिए ।

त्यसैगरी यसअघि प्रदान गर्दै आएको विष्णु चन्द्र पद्मा दीर्घ साहित्य सेवा पुरस्कारको नाम परिवर्तन गर्दै विष्णु चन्द्र पद्मा विशेष प्रतिभा पुरस्कार नामकरण गरेको  संस्थाका महासचिव छविलाल खतिवडाले जानकारी दिए ।

त्यसैगरी संस्थाले यसअघि वितरण हुँदै आएको पुरस्कारको राशिमा वृद्धि गरी तीन वटै पुरस्कारको राशि समान २५ हजार पुर्‍याएको छ । यसअघि पुरस्कारको राशि २१ हजार नगद र सम्मान पत्र रहेको थियो ।

स्थापनाको २० वर्ष पुग्दा संस्थाले कान्छो पुरस्कारका रुपमा नयाँ विधा थप गरेको छ । बैठकले फरक क्षमता भएका विभिन्न क्षेत्रका व्यक्तिलाई पुरस्कृत गर्ने लक्ष्यका साथ फरक क्षमताको विशेष प्रतिभा पुरस्कार को स्थापना गरेको हो । ११ हजार राशिको उक्त पुरस्कार यस वर्षदेखि वितरण गरिने अध्यक्ष प्रसाईँले बताए ।

२०५९ सालमा स्थापना भएको जयेन्द्रप्रसाद सप्राई साहित्य सेवा कोषले स्थापनाकालमा सर्वोत्कृष्ट कृति पुरस्कारबाट पुरस्कार समर्पण सुरुसँगै त्यसयता बर्सेनि निरन्तरता पाउँदै आएको छ । साहित्य र छन्द संरक्षणका लागि क्रियाशील कोषले यो वर्षदेखि फरक क्षमता भएकाहरूका क्षेत्रमा पनि पुरस्कार थप गरेको हो । 

सम्बन्धित समाचार