ब्राउन सुगरसहित ५ जना पक्राउ
झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित ५ जनालाई पक्राउ गरेको छ । सोमबार अपराह्न मेचीनगर नगरपालिका- ६ स्थितमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेको प्रदेश १-०२-०४४ प ३९२९ नम्बरको मोटरसाइकलमा सवार रहेका लेटाङ नगरपालिका-४ मोरङका २१ वर्षीय सनिप राई र २१ वर्षीय पूर्ण प्रकाश मगरको साथबाट ३ ग्राम ब्राउन सुगर बरामद भए सँगै मेचीनगर नगरपालिका-७ का २१ वर्षीय रोहित मण्डल समेत संलग्न रहेकोले बरामद गरिएको ब्राउन सुगर सहित तीनै जनालाई पक्राउ गरिएको छ । दमक नगरपालिका २ खरखरे स्थितबाट इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले शङ्कास्पद अवस्थामा हिडिरहेका दमक-२ का ४१ वर्षीय भीम बहादुर खत्रीको साथबाट ७ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।
त्यस्तै मोरङको विराटनगर महानगरपालिका १५ स्थित रानी भन्सार कार्यालयको १ नम्बर ढाटमा लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेको प्रदेश १-०२-०४ प १७५७ नम्बरको मोटरसाइकलमा सवार रहेका सुन्दरहरैचा नगरपालिका-२ का २८ वर्षीय ज्ञानदिप चौलागाँईको साथबाट ७५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । ब्राउन सुगर सहित पक्राउ परेका पाँचै जनाको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ ।