२०८३ भाद्र १५ गते , सोमबार

सनराइज बैंकद्वारा पाउ पाथीभरा मन्दिरलाई डिजिटल घडी 

sajilo news
झापा
२०७९ भाद्र २१ गते , मंगलबार
सनराइज बैंकद्वारा पाउ पाथीभरा मन्दिरलाई डिजिटल घडी 

सनराइज बैंक बिर्तामोड शाखाले झापाको मेचीनगर –१३ स्थित चारआलीमा रहेको पाउ पाथीभरा मन्दिरमा एक थान डिजिटल घडी प्रदान गरेको छ । पछिल्लो समय धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकसित भइरहेको पाउ पाथीभरा मन्दिरमा आउने भक्तजनलाई यहाँको तापक्रम, समय र सूचनामूलक जानकारी प्रदान गर्ने उद्देश्यले एक थान डिजिटल घडी प्रदान गरिएको सनराइज बैंकका डेपुटी जनरल म्यानेजर रविनकुमार नेपालले बताए । 

  सनराइज बैंकका डेपुटी जनरल म्यानेजर रविनकुमार नेपाल, सनराइज बैंकका १ नं प्रदेश प्रमुख विवेक निरौलालगायतले पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार प्रवर्द्धन समितिका अध्यक्ष तिलकप्रसाद गिरीलाई उक्त सामग्रीको पत्र हस्तान्तरण गरेका थिए । 

 पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वारमा राखिएको  डिजिटल घडीबाट  देशका विभिन्न स्थानबाट पाउ पाथीभरा मन्दिरमा आउने भक्तजनहरूले यहाँको तापक्रम, समय र सूचनामूलक जानकारी प्राप्त गर्न सहज हुने सनराइज बैंकका १ नं प्रदेश प्रमुख विवेक निरौलाले बताए । 

उनले वैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाउ पाथीभरा मन्दिरमा एक थान डिजिटल घडी प्रदान गरेको बताउँदै  बैंकले समाजका आधारभूत आवश्यकताहरूलाई क्रमैसँग पूरा गरेर सामाजिक उत्तरदायित्व बहन गर्दै आएको जानकारी दिए । उनले आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरू गर्दै जाने प्रतिबद्धता जनाए । 

 पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार प्रवर्द्धन समितिका अध्यक्ष तिलकप्रसाद गिरीले धार्मिक तथा पर्यटकीय स्थलको रुपमा रहेको पाउ पाथीभरा मन्दिरमा सनराइज बैंक बिर्तामोड शाखाले एक थान डिजिटल घडी प्रदान गरेको कार्यको प्रशंसा गर्दै पाउ पाथीभरा मन्दिर परिसरमा आउने भक्तजनलाई  डिजिटल घडी उपयोगी हुने बताए । 

 उनले धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकसित भइरहेको पाउ पाथीभरा मन्दिरमा दैनिक एक सय भन्दा बढी र मङ्गलवार र शनिवार  पाँच सय भन्दा बढी भक्तजन दर्शनका लागि आउने गरेको बताए । कार्यक्रमको सहजीकरण सनराइज बैंक बिर्तामोड शाखा प्रमुख गणेशकुमार गुरागाईँले गरेको वरिष्ठ सहायक श्यामकुमार गुरुङले जानकारी दिए । 

 यसैबीच सनराइज बैंकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा प्रयोग हुने गरी तीन थान पोर्टेबल शौचालय र एक थान डिजिटल घडी प्रदान गरेको छ। सनराइज बैंकका डेपुटी जनरल म्यानेजर रविनकुमार नेपालले पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेलाई उक्त सामग्रीको पत्र हस्तान्तरण गरेको सनराइज बैंकका १ नं प्रदेश प्रमुख विवेक निरौलाले बताए ।  

सम्बन्धित समाचार