निजामती कर्मचारी युनियनद्वारा पत्रकार घिमिरेसहित कर्मचारी सम्मानित
भद्रपुर । नेपाल निजामती कर्मचारी युनियन झापाले एक जना पत्रकारसहित डेढ दर्जन बढी कर्मचारीलाई सम्मान गरेको छ ।
झापाको सदरमुकाम भद्रपुरमा आइतबार आयोजित युनियन २१ औं स्थापना दिवसको अवसरमा लोकतन्त्र दैनिक र जनआन्दोलन साप्ताहिकका भद्रपुर समाचारदाता रेवतीराज घिमिरेलाई सम्मान गरेको हो । पत्रकार घिमिरेले समाज र राष्ट्रको परिवर्तनका लागि निरन्तर कलम चलाएको भन्दै कार्यक्रमका प्रमुख अतिथि काँग्रेसकी केन्द्रीय सदस्य सरिता प्रसाईँ र युनियनका अध्यक्ष कवीन्द्रविक्रम नेम्वाङ्गले दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेको हो ।
त्यस्तै वर्ष उत्कृष्ट कर्मचारी पुरस्कारबाट सिअनमी अमिना श्रेष्ठ र नायब सुब्बा तरुण शाहलाई सम्मान गरेको हो । संस्थामा रहेर युनियनलाई सहयोग पुर्याएको भन्दै अवकाश प्राप्त १५ जना कर्मचारीहरूलाई प्रमाणपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, नेपाल निजामती आधिकारिक टेड युनियन झापाका अध्यक्ष लक्ष्मी गुरागाईँ, नेपाल निजामती कर्मचारी संगठन झापा अध्यक्ष केदार पोखरेल, एकीकृत राष्ट्रिय कर्मचारी संगठन झापा अध्यक्ष निरोज कट्टेल लगायतले मन्तव्य राखेका थिए । अध्यक्ष कवीन्द्र विक्रम नेम्वाङ्गले औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन युनियन सचिव चन्द्र पौडेलले गरेका थिए ।