निजामती कर्मचारी संगठनद्वारा पत्रकार झापालीसहित तीन जना पुरस्कृत
भद्रपुर । स्व. प्रमोद तामाङको स्मृतिमा नेपाल निजामती कर्मचारी संगठनले स्थापना गरेको पुरस्कारबाट एक जना पत्रकार र दुईजना राष्ट्रसेवक कर्मचारी पुरस्कृत भएका छन् । नेपाल निजामती कर्मचारी संगठन र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था झापाले स्व। तामाङको स्मृति दिवसको अवसर पारेर बुधवार पुरस्कार वितरण गरेको हो ।
यस वर्षको स्व. प्रमोद तामाङ सुशासन पत्रकारिता पुरस्कार झापा कमल–६ निवासी पत्रकार गोपाल झापालीलाई प्रदान गरियो भने उत्कृष्ट राष्ट्रसेवक पुरस्कार जिल्ला हुलाक कार्यालयका प्रमुख दामोदर घिमिरे र आन्तरिक राजश्व कार्यालय भद्रपुरका कार्यालय सहयोगी बोजप्रसाद दुलाललाई प्रदान गरियो ।
संगठनका अध्यक्ष केदार पोखरेलको अध्यक्षतामा राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीले स्वागत र संगठनका सचिव मनोज तिम्सिनाले सञ्चालन गरेको कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र नं ३ का प्रदेशसभा सदस्य वसन्त बानियाँ, पेसागत महासंघ नेपालका स्थायी कमिटी सदस्य एवम् नेकपा एमाले झापा जिल्ला कमिटी सदस्य देवराज कार्की, नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय सदस्य एवम् प्रदेश इन्चार्ज लक्ष्मीप्रसाद गुरागाईँलगायतले पुरस्कृत व्यक्तित्वहरूलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए ।
पत्रकारिता पुरस्कारको राशि ७ हजार ७७७ रुपैयाँ रहेको छ भने उत्कृष्ट राष्ट्रसेवक पुरस्कारको राशि १० हजार १५१ रुपैयाँ रहेको छ । समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि बानियाँले सेवाग्राही नागरिक र राष्ट्रसेवक कर्मचारीबीच सधैँ साक्षात्कार भइरहने हुँदा कर्मचारीले सहज ढङ्गले छिटोछरितो रुपमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।