विरिङबाट नदीजन्य पदार्थ उत्खनन् गरी ओसारपसार गर्ने ६ वटा सवारीसाधन नियन्त्रणमा
झापामा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गरी ओसारपसारमा गर्ने ६ वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले अर्जुनधारा नगरपालिका–१ स्थित विरिङ नदीबाट अवैध रूपमा नदीजन्य सामग्री उत्खनन गरी ओसारपसार गर्ने दुई वटा टिपर र चार वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।
विरिङ नदीमा बालुवा उत्खनन गरिरहेको अवस्थामा मे १ त ६३४०, प्रदेश–१–०१–००१ त ८२३९, को १ त ६४४ र मे १ त ५१३६ नम्बरको ट्याक्टर तथा प्रदेश–१–०१–००१ क ११२४ र वाग्मती प्रदेश–१–०६ ख ३६४७ नम्बरको टिपरलाई नियन्त्रणमा लिएको पाठकले बताए । ट्याक्टरहरू अर्जुनधारा–१ तथा टिपरहरू अर्जुनधारा–८ स्थित विरिङ नदीबाट नदीजन्य सामग्री ढुवानी गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको बताइएको छ ।
नियन्त्रणमा लिइएका टिपर र ट्याक्टरहरू प्रहरीले आवश्यक कारबाहीका लागि अर्जुनधारा नगरपालिकामा बुझाएको छ । सरकारले असारदेखि भदौ मसान्तसम्म कुनै पनि नदी तथा खोलामा बालुवा, गिट्टी र ढुङ्गा उत्खनन गर्न प्रतिबन्ध लगाएको छ । तरपनि नदीजन्य पदार्थ चोरी निकासीको माध्यमबाट उत्खनन भइरहेको छ ।