विद्यालयलाई करोडौँको जग्गादान दिने उजारूँ राजवंशीको निधनपछि बल्ल बनिने भयो घर
बिर्तामोड । विगतमा दुर्गा मावि गरामनीलाई करोडौँको जग्गा दान दिएर अहिले बिचल्लीमा परेका जग्गादाता उजारूँ राजवंशीको परिवारका लागि विद्यालयको अगुवाइमा घर निर्माण गरिने भएको छ ।
हिजो जग्गाजमिन हुँदाखेरि विद्यालयलाई सहयोग गरेका राजवंशी परिवार अहिले बिचल्लीमा परेपछि विद्यालयले गुन तिर्न लागेको हो । जग्गादाता उजारूँ राजवंशीको निधनपछि उनको परिवार झनै समस्यामा परेको हो । उजारूँ उजारूँकी श्रीमती चम्पा राजवंशी बस्ने राम्रो घर नभएपछि घर बनाइदिने अभियान सञ्चालन गर्न लागिएको हो । उजारूँ राजवंशीको आवास निर्माण गर्नका लागि आइतबार एक समिति गठन गरिएको छ ।
दुर्गा माविका प्रधानाध्यापक कृष्णप्रसाद पाठक संयोजक रहेको सो समितिको सदस्यहरूमा सुमन राजवंशी , इन्द्रसिंह राजवंशी , सरोज पौडेल र उमानाथ भण्डारी रहेका छन् । त्यस्तै वडाध्यक्ष हरिप्रसाद चौलागाईको संयोजकत्वमा सल्लाहकार समिति पनि बनाइएको छ । जसको सदस्यहरूमा कृष्ण पाण्डे , सल्पना राजवंशी ,सुरेन राजवंशी , धर्मेन्द्र भट्टराई र पूर्णबहादुर श्रेष्ठ रहेका छन् । दाता परिवारको दुख देखेर आफूहरूको अगुवाइमा सबैको सरसहयोगमा घर निर्माण गर्न लागिएको प्रधानाध्यापक पाठकले बताए । उनले बुधवार बैंक खाता खोलेर सहयोग सङ्कलन गरिने र केही दिनमै घर निर्माण सुरु गर्ने जानकारी दिए ।
त्यस्तै वडाध्यक्ष चौलागाईले अहिले दुखमा परेको राजवंशी परिवारको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । सोही कार्यक्रममा राजवंशी परिवारलाई क्रिया खर्चका लागि विद्यालयले रु ११ हजार रुपैयाँ सहयोग गरेको छ । कार्यक्रममा वडाध्यक्ष चौलागाई , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण पाण्डे , प्रधानाध्यापक पाठक ,राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशी , विद्यालयका शिक्षकहरू, पत्रकार र स्थानीयको सहभागिता रहेको थियो । प्रतिदिन दैनिकले दाता उजारूँ राजवंशीको समस्याका बारेमा समाचार प्रकाशित गरेको थियो ।
यो पनि पढ्नुहोस् ।
कात्रो किन्ने पैसा नभएका जग्गादाता उजारूँको परिवारलाई सहयोग
झापाका एक विद्यालयलाई करोडौँको जग्गा दान दिने परिवारसँग अहिले कात्रो किन्ने पैसा छैन