२०८३ भाद्र १५ गते , सोमबार

कात्रो किन्ने पैसा नभएका जग्गादाता उजारूँको परिवारलाई सहयोग

sajilo news
झापा
२०७९ भाद्र ५ गते , आईतबार
कात्रो किन्ने पैसा नभएका जग्गादाता उजारूँको परिवारलाई सहयोग

बिर्तामोड । दुर्गा माध्यमिक विद्यालय गरामनीलाई करोडौँको जग्गा दान दिने उजारूँ राजवंशीको काजक्रियाका लागि राजवंशी विकास प्रतिष्ठानले सहयोग उपलब्ध गराएको छ ।

प्रतिष्ठानले शनिवार उजारूँ राजवंशीको तीन दिनको क्रिया (तीन सिनान) मा पाँच बोरा चामल र एक बोरा मुरै मृतक परिवारलाई उपलब्ध गराएको हो । विभिन्न दाताहरूबाट सङ्कलन गरी ती खाद्यान्न उपलब्ध गराइएको प्रतिष्ठानका सचिव इन्द्रसिंह राजवंशीले बताए ।

चेम्बर अफ कमर्सका अध्यक्ष ओमकृष्ण बिमलीबाट दुई बोरा , बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीबाट एक बोरा , शिखर बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष तारा खतिवडाबाट एक बोरा चामल तथा राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशीबाट एक बोरा चामल र एक बोरा मुरै सहयोग प्राप्त भएको सचिव राजवंशीले जानकारी दिए । तीन सिनानका दिन प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशी र सचिव इन्द्रसिंह राजवंशीले सो सहयोग हस्तान्तरण गरेका थिए ।  दाता उजारुको काजक्रिया गर्न समस्या रहेको छ । गाउँलेले जुटाएर उनको अन्त्येष्टि गरेका थिए । काजक्रिया पनि सहयोग जुटाएर गरिरहेका छन् ।

दुर्गा माविलाई एक विगाह जग्गा दान दिने बिर्तामोड ९ निवासी दानवीर राजवंशी र उनको परिवारमा यस्तो हविगत भएको हो । राजवंशीको गत बुधवार ७५ वर्षको उमेरमा निधन भएको हो । उनी विगत ६ महिनादेखि प्यारालाइसिस रोगले थलिएका थिए । श्रीमती चम्पा राजवंशीसँग भत्किन लागेको कटेरोमा राजवंशी बस्दै आएका थिए । वृद्ध भत्ताबाटै ती दुवैले गुजारा गरेका थिए ।उनीहरूका तीन छोरा मजदुरी गरेर आफ्नो परिवार पाल्छन् । मृत्यु हुँदा रकम सङ्कलन गरेर अन्त्येष्टि गरेको छिमेकी मुक्ति श्रेष्ठले बताइन् । ‘उनीहरू बस्ने कटेरोमा बर्खाको पानी चुहिन्थ्यो ’उनले भनिन् ‘ पानीबाट जोगाउन प्लास्टिकले घर छोपिदियौँ ।’

गरामनीबाट लखीबारीतर्फ जाने शहीद नेत्र मार्गले छोएको करोडौँको जग्गा राजवंशीले दान दिएका थिए । ससुरालीबाट दानमा पाएको ४ विगाह र मोहीयानीको ५ विगाह गरी उनी ९ विगाहको धनी थिए । त्यही बेला उनले विद्यालयलाई एक विगाह जग्गा दान दिएका हुन् । सम्पत्ति हुँदा राजवंशी परिवारलाई सबैले खोजेपनि सम्पत्ति सकिएपछि कसैले पनि वास्ता नगरेको भतिज नारायण राजवंशीले गुनासो गरे ।

यो पनि पढ्नुहोस् ।

झापाका एक विद्यालयलाई करोडौँको जग्गा दान दिने परिवारसँग अहिले कात्रो किन्ने पैसा छैन

सम्बन्धित समाचार