काँकडभिट्टाबाट भन्सार छलेर भित्राएको कपडा भद्रपुरमा बरामद
भद्रपुरबाट प्रहरीले दुई पोका कपडा बरामद गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भद्रपुर- ६ स्थित भानु चोकबाट शुक्रबार बिहान एक लाख मुल्य बराबरको कपडा बरामद गरेको हो ।
प्रहरी स्रोतका अनुसार काँकडभिट्टा नाकाबाट अवैध रुपमा भन्सार छलेर भित्राइएको सो सामान भद्रपुर ल्याउन खोजेको हो । काँकडभिट्टाकी सीता भन्नेले सो सामान मारुती भ्यानमा भद्रपुरसम्म पठाएको हो । भद्रपुर आइपुगेपछि मारुती भ्यानका चालकले भद्रपुर- ५ स्थित जनता चोक नजिकै एउटा अटो चालकलाई सो सामान जिम्मा लगाएर फर्कियो । भ्यान चालकले अटो चालकलाई सामान पुर्याए बापत ती सय रुपैयाँ दिएको थियो । प्रहरीले अटोबाटै शङ्का लागेर सो सामान बरामद गरेको हो । कालो नम्बर प्लेट र त्यसमाथि भाडा तिरेर सामान ल्याउने अटोलाई प्रहरीले छाडेर सामान मात्र भद्रपुर भन्सार कार्यालय बुझाइसकेको छ । कपडाको पोकामा चिन्नु भद्रपुर भनेर लेखिएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर- ६ स्थित पिङकी ठ्याकमा नेपालबाट भारत तर्फ अवैध रुपमा लैजाँदै गरेको १४० केजी सुपारी बरामद गरेको छ । बरामद गरिएको सुपारीको मुल्य ८५ हजार रहेको छ । सुपारीलाई मेची भन्सार काँकडभिट्टा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।