मोरङबाट झापा ल्याउँदै गरेको अवैध चिनी र खैनीसहित पिकअप गाडी नियन्त्रण
राजश्व छलेर सरसामान नेपाल भित्रिन थालेपछि सशस्त्र र नेपाल प्रहरीले दिनहुँ जसो झापामा सरसामान बरामद गरिरहेको छ । यसैक्रममा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले चिनी, बिडी, खैनी र कुरमुरेसहित एउटा पिकअप गाडी नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।
प्रहरीले बुधवार राती साढे १० बजे दमक नगरपालिका- १० स्थित रतुवा पुल नजिक मोरङबाट झापा तर्फ आउँदै गरेको मे १ च ६७९० नम्बरको पिकअप गाडीलाई शङ्का लागी चेक जाँच गरेका थिए । चेकजाँचको क्रममा गाडीभित्र १६ बोरा चिनी, ४ कार्टुन बिडी ५ बोरा खैनी र ३ बोरा कुरमुरे बरामद गरेको थियो । सो सामान मोरङको नाकाबाट भन्सार छलेर नेपाल भित्राएको हो । बरामद गरिएको सामान, गाडी र चालक दमक- ७ निवासी ४१ वर्षीय नारायण बस्नेतलाई गरी ६ लाख ६७ हजार मुल्याकंन तोकेर मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको डीएसपी पाठकले बताए ।