वार्ताबाट सहमति खोज्न राजवंशी विकास प्रतिष्ठानको आग्रह
झापा । राजवंशी विकास प्रतिष्ठानले आन्तरिक समस्यालाई विकराल नबनाई वार्ता र संवादका माध्यमबाट सहमति र सद्भाव कायम गर्न आव्हान गरेको छ ।
राजवंशी समाज विकास समितिको छैटौँ केन्द्रीय महाधिवेशनका क्रममा उत्पन्न विवाद बढ्दै गएपछि प्रतिष्ठानले विवादलाई नचर्काउन आग्रह गरेको हो ।
प्रतिष्ठानले शनिवार एक विज्ञप्ति जारी गरी नेतृत्व लिने होडबाजीमा समग्र जातिको साझा संस्था रासविसको अस्तित्वमाथि खेलबाड गर्न पाइँदैन भन्दै रासविसको केन्द्रीय महाधिवेशनको वैधानिकताका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय झापामा मुद्दा विचाराधीन रहेकाले त्यस निर्णयको प्रतीक्षा गर्न र आउने आधिकारिक निर्णयलाई आत्मसात् गर्न समेत आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ ‘यति लामो ऐतिहासिक संस्थाको गरिमामा केही दिनदेखि आँच पुग्ने गरी भइरहेको क्रियाकलापले हामीलाई चिन्तित तुल्याएको छ । छैटौँ केन्द्रीय महाधिवेशनबाट उत्पन्न विवादले रासविसको गरिमामा ठेस पुग्नुका साथै हामी राजवंशीहरूको एकता र मेलमिलापमा असर पुग्ने देखेर हामी यो प्रेस विज्ञप्ति निकाल्न बाध्य भएका छौँ । ’