२०८३ भाद्र १५ गते , सोमबार

झापाली युवाले गरे स्विजरल्यान्डको सीइआरएनमा नेपालको प्रतिनिधित्व

sajilo news
झापा
२०७९ श्रावण २८ गते , शनिबार
झापाली युवाले गरे स्विजरल्यान्डको सीइआरएनमा नेपालको प्रतिनिधित्व

स्विजरल्यान्डको जेनेभा स्थित युरोपियन न्युक्लियर रिसर्च सेन्टर (सीइआरएन) मा सन् २०२२ जुलाई २ देखि १७ सम्म भएको अन्तर्राष्ट्रिय शिक्षक सम्मेलनमा झापा भद्रपुरका उज्ज्वल पौडेलले नेपालको तर्फबाट प्रतिनिधित्व गरेका थिए । 

प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन ३४ देशका ४३ जना शिक्षकलाई आमन्त्रण गरिएको थियो । विश्वभरका हजारौँ आवेदकमध्येबाट छनोट भएका भद्रपुरका उज्ज्वल ४३ शिक्षकमध्ये पर्ने नेपाली युवक थिए । उनी विदुर इङ्लिस बोर्डिङ हाई स्कुल भद्रपुरमा पढ्दादेखि नै प्रतिभाशाली र विज्ञान तथा गणितमा रुचि राख्ने विद्यार्थीहरूको रुपमा परिचित थिए ।

विज्ञानको संसारमा सीइआरएन एक चिरपरिचित नाम हो । यस संस्थाको प्रमुख उद्देश्य भनेको प्रकृतिका आधारभूत नियमहरूलाई सूक्ष्म रूपमा अध्ययन र अनुसन्धान गरी मानव ज्ञानको सीमालाई अगाडि बढाउनु र मानव जगत्‌का आधारभूत जिज्ञासाहरूलाई सम्बोधन गर्नु हो । त्यसका लागि यस प्रयोगशालामा सबएटमिक कणहरूलाई प्रकाशको गतिको नजिकमा एकसाथ ठोक्काइन्छ र त्यहाँबाट उत्पन्न हुने विभिन्न परमाणुहरूको तथ्याङ्कलाई शोध अनुसन्धानका लागि प्रयोग गरिन्छ, जसले हामीलाई कणहरूले सूक्ष्म रूपमा कसरी अन्तरक्रिया गर्छन् भन्ने जानकारी दिन्छ । त्यसबाट आउने निष्कर्षले ब्रह्माण्डको उत्पत्तिका बारेमा रहस्य पत्ता लगाउन सहयोग गर्दछ । यसका लागि सीइआरएनमा कार्यरत वैज्ञानिकहरू लागि परेका छन् ।

मेधावी छात्रा उज्ज्वलले सेन्ट जेभियर कलेजबाट भौतिक शास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन् । त्यहाँ अध्ययनरत रहँदा उनले ‘सेन्ट जेभियर फिजिक्स काउन्सिल’ मा आबद्ध रही भौतिक विज्ञान सम्बन्धी विभिन्न गोष्ठी तथा कार्यशालाहरू पनि सञ्चालन गरेका थिए ।

सीइआरएनमा रहेका विश्व प्रसिद्ध भौतिक शास्त्री र इन्जिनियरहरूले विभिन्न सत्रहरूमा भौतिक विज्ञानमा भएका विभिन्न नवीन आविष्कारहरूबारे शिक्षकहरूसँग छलफल गरेको उनले बताए । संयोगवश इलेकट्रोन र क्वार्कजस्ता अन्य आधारभूत कणहरूलाई पिण्डमान दिने हिग्स बोसनको खोजीको दसौँ वार्षिकोत्सव यसै सम्मेलनमा मनाइएको उनले बताए ।

विभिन्न देशबाट आमन्त्रित शिक्षकहरूलाई सीइआरएनको ऐतिहासिक Synchrocyclotron, CMS, CERN डाटा सेन्टर, CERN कन्ट्रोल सेन्टर, Anti-matter फ्याक्ट्रीजस्ता महत्त्वपूर्ण ल्याबहरूको भ्रमण गराउनुका साथै अत्यन्त महत्त्वपूर्ण अनुसन्धानका विभिन्न पक्षहरूका बारेमा  भएका छलफलमा सहभागी गराइएको उनको भनाई छ ।  कार्यक्रमको अन्त्यमा उनले उनको समूहका साथमा न्युट्रिनो फिजिक्स सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । हाल उनी काठमाडौँ स्थित डियर वाक सिफल स्कुलमा हाई स्कुल प्रमुखका रुपमा कार्यरत छन्।

 

सम्बन्धित समाचार