भद्रपुरको शान्ति-सुरक्षा माग गर्दै सीडीयो र एसपीलाई ज्ञापनपत्र
(रोहित काफ्ले) भद्रपुर । चाडपर्व नजिकिँदै गर्दा जिल्लामा बढ्दै गएको चोरीका घटना नियन्त्रण गर्न र आवश्यक शान्ति–सुरक्षाको व्यवस्था गर्न माग गर्दै झापा उद्योग वाणिज्य संघले झापाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
संघले मङ्गलवार भद्रपुर नगरपालिकालाई बुझाएको ज्ञापन पत्रको बोधार्थ आज प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई बुझाएको हो ।
खास गरी, जिल्लाको सदरमुकाम रहेको भद्रपुरमा चोरीका घटना बढ्दै गएकोले आवश्यक सुरक्षा व्यवस्थाको मागसहित भद्रपुरका उद्योगी–व्यवसायीको प्रतिनिधित्व गर्दै संघले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा आज ज्ञापनपत्र बुझाएको कार्यालय सङ्घका कार्यालय सचिव दुर्गाप्रसाद खतिवडाले जानकारी दिए ।
सङ्घका वरिष्ठ उपाध्यक्ष खड्क लिम्बूको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रजिअ रिजाल र प्रहरी उपरीक्षक विश्वमणि पोखरेललाई बुझाएको थियो । टोलीमा उपाध्यक्ष सन्तोष धमला, उद्योग सचिव सञ्जय श्रेष्ठ, महिला सदस्य कमला दुवाडी, शिला तामाङ, सदस्य बाबुराम पराजुलीको सहभागिता थियो ।
ज्ञापन पत्रमा भनिएको छ– ‘झापाको सबैभन्दा पुरानो औद्योगिक तथा व्यापारिक केन्द्र भद्रपुर क्षेत्रका व्यावसायिक प्रतिष्ठानहरूमा केही दिनयता चोरीका घटना बढ्दै गएका छन्, विभिन्न कारणले निरन्तर व्यवसाय खस्कँदो अवस्थामा रहँदा आर्थिक रुपमा समस्या भोग्दै आएका उद्योगी–व्यवसायी एकपछि अर्को चोरीका घटनाले थप आर्थिक क्षति व्यहोर्न बाध्य भएका छन् एकातिर भने अर्कोतिर व्यक्तिगत तथा व्यावसायिक असुरक्षा पनि बढेको छ, लगातार दिनदहाडै चोरीका घटना भई रहनुले भद्रपुर क्षेत्रमा सुरक्षा व्यवस्थाको कम–जोरीलाई उजागर गर्दछ ।
कसरी हुन्छ, भद्रपुर क्षेत्रको सुरक्षा व्यवस्था मजबुत तुल्याएर यहाँका उद्योगी–व्यवसायीलाई भयरहित ढङ्गले उद्योग–व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिनुहुन अनुरोध छ, अन्यथा, सामान्य अवस्थामा पनि व्यापार–व्यवसाय नचलेर पीडा भोगिरहेका उद्योगी–व्यवसायी आफ्नो उद्योग–व्यवसाय छोडेर पलायन हुनसक्नेतर्फ पनि ध्यानाकर्षण गराउन चाहन्छौँ ।’ संघले भद्रपुर नगरपालिकालाई ज्ञापनपत्र बुझाइसकेको छ ।