२०८१ आश्विन १७ गते , विहीबार

सम्बन्धबिच्छेदका मुद्दा झापामा धेरै, २३०१ अभियुक्त अझै फरार

sajilo news
झापा
२०७९ श्रावण १० गते , मंगलबार
सम्बन्धबिच्छेदका मुद्दा झापामा धेरै, २३०१ अभियुक्त अझै फरार

जिल्ला अदालत झापाले आर्थिक वर्ष २०७८/०७९मा तीन हजार ८ सय ५७ वटा मुद्दा फैसला गरेको छ । आर्थिक वर्ष २०७८/०७९मा सबैभन्दा बढी सम्बन्ध बिच्छेदका मुद्दा दर्ता र फैसला भएका हुन् । आर्थिक वर्ष २०७८/०७९ मा जिल्ला अदालत झापामा सम्वन्धविच्छेदका मुद्दा एक हजार ३ सय ८० वटा फैसला भएका हुन् । यो संख्या जम्मा देवानी मुद्दाको फैसलाको आधाभन्दा बढी हो ।

आर्थिक वर्ष २०७७/०७८ बाट जिम्मेवारी सरेर आएका दुई हजार ८ सय ६८ र आर्थिक २०७८/०७९ मा दर्ता भएका तीन हजार ५ सय ५१ वटा गरी ६ हजार ४ सय १९ मुद्दामध्ये तीन हजार ८ सय ५७ वटा मुद्दा फैसला भएको हो । फैसला भएका मुद्दामा दुई हजार ४ सय १० वटा देवानी मुद्दा रहेका छन् ।

त्यस्तै एक हजार ३ सय ९० वटा मुद्दा फौजदारी रहेको जिल्ला अदालत झापाले जनाएको छ । १२ वटा पुनरावेदन पत्रको फछ्र्यौट हुँदा रिटतर्फ भने ४५ वटा रिट निवेदनहरुको टुङ्गो लागेको जिल्ला अदालत झापाका तहसीलदार गणेश पाण्डेले जानकारी दिए ।

जिल्ला अदालत झापामा अझै एक हजार ४ सय ६५ वटा देवानी, एक हजार ६८ वटा फौदारी मुद्दा, ४ वटा मुद्दा पुनरावेदन तथा २५ वटा रिट निवेदन गरी दुई हजार ५ सय ६२ वटा मुद्दा चालू अवस्थामा रहेको बताइएको छ ।

अदालतबाट आर्थिक वर्ष वर्ष २०७८/०७९ मा सजाय असुली समेत सन्तोषजनक रहेको जिल्ला अदालत झापाले जनाएको छ । २०७८/०७९ मा जम्मा हुन आएको ६ हजार ३ सय ९४ बर्ष १ महिना ७ दिन कैदमध्ये २ हजार ९८ वर्ष ९ महिना १० दिन कैद असुली भएको छ । अब ४ हजार २ सय ९५ बर्ष ३ महिना २७ दिन कैद बेरुजु रहेको जिल्ला अदालत झापाका तहसीलदार पाण्डेले जानकारी दिए ।

त्यसैगरी जरिवानातर्फ कूल ४५ करोड करोड २८ लाख लाख ३४ हजार छ सय ६९ रुपैयाँ ७० पैसा लगत रहेकोमा छ करोड २६ लाख ३१ हजार सात सय पाँच रुपैयाँ जरिवाना असुली भएको छ । जरिवानाको बेरुजु लगत ४० करोड २ लाख २ हजार ८ सय ६४ रुपैयाँ ७० पैसा बाँकी रहेको बताइएको छ । बाँकी कैद तथा जरिवाना लागेका दुई हजार ३ सय १ जना मानिस फरार रहेको बताइएको छ ।

देवानी मुद्दाको फैसला कार्यान्वयनका लागि दर्ता हुन आएका ७८० निवेदनमध्ये ४३० वटा मुद्दाको फैसला कार्यान्वयन भएको छ । यस्ता निवेदनहरुमा बण्डा छुट्याउने, बिगो भराउने, चलन चलाउने, क्षतिपूर्ति भराउने लगायतका रहेका छन् । फैसला कार्यान्वयनका ३५० वटा निवेदनहरु हाल कार्यान्वयनकै चरणमा रहेको बताइएको छ ।

आर्थिक वर्ष २०७८/०७९मा अदालतले विभिन्न फौजदारी मुद्दाबाट पीडित भएका २५ जना पीडितलाई फैसलाले ठहरेको क्षतिपूर्ति रकम भराएको छ । यस्तो रकम पीडकबाट असुल गरी पीडितहरुलाई भराइएको हो । यसरी भराइएको रकम ४ लाख ३५ हजार रहेको छ ।

त्यसैगरी अदालतले ५४ लाख ६७ हजार ७ सय १५ रुपैया अपराध पीडित राहात कोषमा जम्मा गर्न सफल भएको छ । यसरी जम्मा भएको रकम अदालतको फैसलाले ठहर बमोजिम जघन्य अपराधमा पीडित भएका पीडितहरुलाई भराउने गरिएको जिल्ला अदालत झापाले जनाएको छ ।

सम्बन्धित समाचार