२०८१ मंसीर २० गते , विहीबार

१० बुँदे माग राख्दै शिक्षक संघले बुझाए हल्दीबारी गाउँपालिकालाई ज्ञापनपत्र

sajilo news
झापा
२०७९ असार ६ गते , सोमबार
१० बुँदे माग राख्दै शिक्षक संघले बुझाए हल्दीबारी गाउँपालिकालाई ज्ञापनपत्र

नेपाल शिक्षक संघ हल्दीबारी गाउँ कार्य समितिले  आफ्ना समस्या र मागहरूको विषयमा १० बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । संघले हल्दीबारी गाउँपालिकामा अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनलाई आइतबार ध्यानाकर्षण पत्र बुझाएको हो ।

पत्रमा उल्लेखित बुँदाहरूमा बाल शिक्षकहरूलाई प्राबि सरहको सेवा सुविधा उपलब्ध गराउनु पर्ने, विद्यालय कर्मचारीलाई लेखापालको सरह सेवा सुविधा दिनुपर्ने, विद्यालय सहयोगीहरूलाई राष्ट्र सेवक कर्मचारी, कार्यालय सो सरहको सुविधा दिनुपर्ने, आर्थिक वर्ष ०७९/०८० को बजेट व्यवस्थापनमा बाल शिक्षक विद्यालय कर्मचारी र विद्यालय सहयोगीहरूलाई सम्बोधन नगरेकाले स्थानीय स्तरबाट सम्बोधन गर्नुपर्ने, स्थानीय सरकारबाट प्रदान गरिएका कम्प्युटर शिक्षक, विज्ञान शिक्षक र बाल शिक्षकहरूलाई आर्थिक वर्ष  ०७९/०८०को बजेटले वृद्धि गरेको तलब बढाउनु पर्ने, हल्दीबारी भित्रका सबै सामुदायिक विद्यालयहरूमा खानेपानी विस्तार गरी निःशुल्क उपलब्ध गराउनुपर्ने छन् ।

त्यस्तै विद्यालय व्यवस्थापन खर्च स्थानीय तहले उपलब्ध गराउनुपर्ने, जीर्ण अवस्थामा रहेका विद्यालय भवनका जस्तापाताहरूलाई विस्थापन गरी नयाँ जस्तापाता फेर्नुपर्ने ,निजामती कर्मचारी सो सरह शिक्षक तथा कर्मचारीहरूलाई मासिक रूपमा तलब खुवाउने काम गर्नुपर्ने  र कक्षा १२ सम्म सञ्चालन भएका विद्यालयहरूलाई विषय शिक्षकको व्यवस्था गर्नुपर्ने उल्लेख छ।

ध्यानाकर्षण पत्रमा नेपाल शिक्षक संघ हल्दीबारी शिक्षाको गुणस्तर वृद्धिमा कुनै कसर राख्ने छैन भनी प्रतिबद्धता समेत जाहेर गरेको छ। उक्त पत्र बुझाउने कार्यक्रममा नेपाल शिक्षक महासंघ प्रदेश सदस्य सोमबहादुर तामाङ, संघका जिल्ला सदस्य गङ्गाराम खरेल शिक्षक महासंघ, हल्दीबारी सचिव बोधकृष्ण पौडेललगायत प्रतिनिधि मुलुक उपस्थित रहेको थियो। पत्रमा संघ हल्दीबारी गाउँ कार्य समिति अध्यक्ष कृष्णप्रसाद वन तथा सचिव नरनाथ राजवंशीले हस्ताक्षरित छ । ध्यानाकर्षण पत्र गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनले बुझ्दै आफ्नो यो विषयमा गम्भीरतापूर्वक लिने बताए ।

सम्बन्धित समाचार