सामुदायिक विद्यालयमा अभिभावकको एक्सन : ढिलो आउने शिक्षकलाई गेटबाटै फर्काइदियो
झापा । मेचीनगर नगरपालिका- ९ स्थित कविशिरोमणि माविको शैक्षिक स्तर खस्किएको भन्दै अभिभावकहरूले आइतबार विद्यालय घेराउ गरेका छन् । बिहान ९ः४५ बजे विद्यालय परिसर पुगेका अभिभावकहरूले समयमा नआउने शिक्षकहरूलाई विद्यालय प्रवेशमा रोकसमेत लगाएका छन् । विद्यालय समयमा गेटमा भेला भएका अभिभावकहरूले ढिलो आउने शिक्षकलाई गेटबाटै फर्काइदिएका हुन् ।
कुनै बेला जिल्लाकै उत्कृष्ट विद्यालयमा पर्ने कविशिरोमणि माविको शैक्षिक स्तर खस्किएपछि अभिभावकहरूले चासो र चिन्ता व्यक्त गर्दै आएका छन् । अभिभावकहरूका अनुसार सो विद्यालयको शैक्षिक वातावरण नराम्ररी खस्किएकाले विद्यार्थीहरू विद्यालय छाड्न बाध्य भएका छन् । अलिक तल्तिर धुलाबारी माविमा विद्यार्थी खचाखच हुनु तर यहाँ किन घटिरहेका छन् रु भन्दै अभिभावक भूपेन्द्र पाठकले प्रश्न गरेका छन् । विद्यालय स्रोतका अनुसार हाल ५ सय विद्यार्थी अध्ययनरत छन् । कुनै बेला उक्त विद्यालयमा १५०० विद्यार्थी अध्ययनरत थिए । कक्षा ५ सम्म त झन् विद्यार्थी सङ्ख्या न्यून रहेको स्वयम् विद्यालय प्रशासन बताउँछ ।
अभिभावकहरूले छड्के अनुगमन गरेपछि विद्यालय प्रशासनसँग छलफल गरिएको थियो । छलफलका क्रममा अभिभावक तथा सामाजिक अभियन्ता मुकेश लिम्बू, कपिल चापागाईँ, पूर्व जनप्रतिनिधि इन्द्र प्रधान, चन्द्रकला खवासलगायतले विद्यालयको शैक्षिक स्तर खस्किएको भन्दै चिन्ता व्यक्त गरे । उनीहरूले के कारण विद्यालय यो अवस्थामा आइपुगेको हो भन्दै विद्यालय प्रशासनसँग जवाफ मागेका गरेका थिए । छलफलमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमणि पौडेलले विद्यालयको पढाइ स्तर खस्किएको स्वीकार गरे । उनले स्रोतसाधन सम्पन्न भए पनि विद्यालयलाई माथि उठाउन हर सम्भव प्रयास गरिरहेको बताए ।
विद्यालयप्रति यहाँहरूको चिन्ता र चासो स्वाभाविक भएको शिक्षक अभिभावक सङ्घका अध्यक्ष चूडामणि रेग्मीले बताए । उनले अभिभावकहरूको सल्लाह र सुझावलाई ग्रहण गर्दै विद्यालय नमुना बनाउन खोजिरहेको स्पष्ट पारे । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले शैक्षिक स्तर बढाउन प्रयत्न गरिरहेको बताए । उनले त्यसका लागि सिङ्गो विद्यालय कर्मचारी र शिक्षकको भूमिका सकारात्मक हुनुपर्ने बताए । उक्त विद्यालयमा शिक्षकहरूबिच एकले अर्कालाई नमान्ने र ठालु पल्टिने प्रवृत्ति रहेको बताइएको छ । केही शिक्षकहरू समयमा नआउने र कक्षा कोठामा मोबाइल चलाएर बस्ने गरेका छन् ।
प्रअले शिक्षकहरूलाई निर्देशन दिँदा नमान्ने र गुटगत राजनीति हाबी हुँदै गएको छ । जसका कारण विद्यार्थीको भविष्य अन्धकार बन्ने खतरा रहेको अभिभावकहरू बताउँछन् ।