बोटसँगै मकै बिक्री हुँदा झापाका किसान उत्साही
झापा । ग्रामीण क्षेत्रका मकै किसान यतिबेला उत्साहित बनेका छन् । उनीहरुले लगाएको मकैमा दान लाग्न सुरु भएसँगै खेतबाटै बोटैसँग विक्री हुन थालेपछि उनीहरु उत्साही बनेका हुन् ।
जिल्लाका ठूला गाईफार्म सञ्चालकले किसानका खेतमा गएर साइलेज बनाउनका लागि मकै खरिद गर्न थालेका छन् । किसानहरु पनि बोटैमै मकै नपाकी राम्रो मूल्य पाउन थालेपछि सन्तुष्ट छन् ।
मेचीनगर नगरपालिका १५ ज्यामिरगढीका मकै किसान ६५ बर्षीय हिमाल पोखरेलले खेतबाटै ८० हजार बढीको मकै विक्री गरेका छन् । उनले लगाएको एक विगाह जमिनको मकै साइलेज बनाउनका लागि गाई फाम सञ्चालकहरुले खरिद गरेका थिए । “मकै भाच्नु, नग्याउनु, छोडाउनु र सुकाउनु पनि नपर्ने, मूल्य पनि राम्रो आयो”, उनले भने, “विना झन्झट बोटमै विक्री भएपछि विना खर्च आम्दानी पनि बढ्यो ।”
उनले खेतबाटै प्रतिकेजी चार रुपैयाँ पचास पैसाको दरले बोटसँगैको मकै विक्री गरेको बताए । मकै सुकाएर बेच्दा किसानले भनेजस्तो मूल्य पनि नपाउने र खर्च पनि बढी भइरहेको अवस्थामा बोटबाटै भएको विक्रीले ग्रामीण क्षेत्रका किसानलाई राहत मिलेको छ ।
मेचीनगरको ज्यामिरगढी, दुहागढी क्षेत्रको मकै साइलेज बनाउनका लागि नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गरेको एनएमसी कृषि फार्मले खरिद गर्र्दै आएको छ । एनएमसीले मेचीनगर १४ स्थित दुहागढीमा अग्र्यानिक नमूना तरकारी खेतीसँगै गाईफाम समेत सञ्चालन गर्दै आएको छ ।
संस्थाले आफूले भाडामा लिएर लगाएको जमिनको मकैले मात्र नपुगेपछि कनकाई नगरपालिका, झापा गाउँपालिका र मेचीनगरका किसानको मकै समेत खरिद गरेर साइलेज बनाइरहेको एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीले बताए ।
उनले साइलेज बनाउनका लागि किसानको १० लाख केजी मकै खरिद गरेको बताए । चैत महिना भित्र खरिद गरिएको मकै प्रतिकेजी रु पाँच र बैशाख लागेपछि प्रतिकेजी चार रुपैयाँ पचास पैसाका दरले किसानको मकै खरिद गरेको उनले बताए ।
अध्यक्ष उप्रेतीले गाइवस्तुका लागि पोसिलो आहार मानिने साइलेज अरु गाईफार्मलाई समेत विक्री गरिने बताए । उनका अनुसार दमकमा रहेको पाथीभरा एग्रो फार्मले पनि १० लाख केजी मकैको साइलेज बनाएको छ । यसपटक जिल्लाको मेचीनगर, दमक, विर्तामोडलगायतका ठूला साना गाइफार्महरुले करिब एक करोड केजी मकैको साइलेज बनाएको उनको भनाई छ ।
दुई बर्ष अघि एनएमसीले साइलेज बनाउन सुरु गरेसँगै जिल्लामा अन्य फार्महरुले समेत बनाउन थालेका छन् । तयार भएको साइलेज विक्रीको लागि एमएमसीले बुकिङ समेत खुल्ला गरेको छ । अध्यक्ष उप्रेतीले तयार भएको साइलेज जेठदेखि असारसम्ममा प्रतिकेजी रु १० का दरले विक्री गर्ने र साउन लागेपछि त्यसको मूल्य पनि बढ्न सक्ने बताए ।