नेपाली चिया भारत निर्यात सहज बनाउन पहल
झापा । कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले भारतसंग व्यापार बढाउन नेपालले पहल गरिरहेको बताएका छन् । झापाको मेचीनगरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आयोजना गरेको कार्यक्रममा सहभागी महादूत पौडेलले चियासहित नेपालबाट निर्यात हुने कृषिजन्य वस्तुको बजारीकरणमा दूतावासले पहल गरिरहेको बताएका हुन् । चियासहित केही कृषिजन्य बस्तुको निर्यातमा भारतले नेपाली व्यवसायीलाई दुःख दिइरहेको अवस्थामा दूतावासको तर्फबाट सहजीकरण गर्ने कार्य निरन्तर गरिरहेको उनको भनाइ छ ।
कार्यक्रममा नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले चिया निर्यात गर्दा भारतीय पक्षबाट व्यवसायीलाई बिना कारण विभिन्न किसिमको झञ्झट दिने भएकाले त्यसको अन्त्यका लागि दूतावासले पहल गर्नुपर्ने बताए । उनले गलगलिया नाका खुलाउनु पर्ने भन्दै यो नाका खुलेको खण्डमा चिया लगायतका कृषिजन्य वस्तु निर्यातमा सहज हुने धारणा राखे । नेपालमा उत्पादित चियालाई भारतले खरिद गर्ने र दार्जीलिङको कम गुणस्तरीय चिया मिसाएर क्वालिटी लेस बनाउँदै बिक्री गर्ने गरेको उनको भनाइ छ ।
नेपालबाट निर्यात गरेको चिया महिनौसम्म कलकत्ता बन्दरगाहमा बस्ने गरेको बताउँदै उनले नेपालको चियामा शरीरलाई हानी हुनै कुनै केमिकल प्रयोग नहुने तर, भारतमा उत्पादन गरेको चियामा केमिकल प्रयोग हुने हुँदा नेपालको चियालाई कम गुणस्तरीय भएको आरोप लाग्दै आएको बताएका थिए । भारतमा उत्पादित चियामा फेमिसिल भन्ने केमिकल प्रयोग गरिन्छ– उनले भने– त्यस्तो चियामा नेपालको चिया मिसाउँदै नेपालले पठाएको चिया गुणस्तरीय हुँदैन भन्ने आरोप लाग्ने गरेको छ ।
त्यस्तै कार्यक्रममा सहभागी अर्का व्यवसायी उदय चापागाँईले चियाको बजार नै मुख्य समस्या भएको बताए । कृषि उपजलाई किन विश्व बजारमा पु¥याउन सकिएन भन्दै उनले प्रतिप्रश्न गर्दै भने– चियाको गुणस्तरलाई कसरी बढाउन सकिन्छ, सरकारले बजारको सुनिश्चितता गर्नुप¥यो ।
सरकारको नीति नभएर चिया व्यवसायी र उद्योगी मारमा परेको उनको भनाइ छ । नेपालमा १८ हजार कृषकले चिया उत्पादन गर्ने गरेको तर सरकारले कुनै सहयोग नगरेको भन्दै उनले नेपाल सरकारले चिया नीति बनाउनुपर्ने धारणा राखे ।
कार्यक्रममा चिया उद्यमी उत्तम श्रेष्ठले नेपालको चियालाई भारतीय टी बोर्ड ले बन्द गराउन लागेको आरोप लगाए । तर, त्यहाँका व्यवसायीले नेपालको हरियो पत्ती चिया किनेर लाने र भारतीय चिया बनाएर बिक्री गरेका छन् । इलाममा विश्व वजारमा चाहिने चिया विक्री हुँदै आएको बताउँदै उनले भने– नेपालमा उत्पादित चिया बिक्री गर्दा भारतमा कुनै किसिमको झञ्झट हुनु हुँदैन, यसका लागि दूतावासले पहल गर्नुप¥यो । नेपालको व्यापार घाटा कम गर्न चिया सहयोगी बन्ने बताएका उनले नेपालमा उत्पादित चियाको गुणस्तरलाई भारतमा मान्यता दिनुपर्ने धारणा राखे ।
यता नेपाल चिया उत्पादक संघका सल्लाहकार चण्डी पराजुलीले नेपालमा उत्पादित चियाले अझै पनि बजारभाउ पाउन नसकेको बताए । उनले नेपालमा चार अर्व रुपैयाँको मात्रै चिया उत्पादन नहुने बताउँदै अहिलेको यो मूल्य आधाभन्दा कम हो तसर्थ चियाको बजारीकरणमा सरकारले पहल गर्नु पर्नेमा जोड दिए ।
बजार नहँुदा आधा रकम पनि चियाले पाउन नसकेको बताएका उनले भारतको चिया गुणस्तर हुने नेपालको किन गुणस्तर नहुने रु नेपालको हरियो पत्ती गुणस्तरीय हुने तर उत्पादित चिया किन गुणस्तरीय नहुने भन्दै प्रतिप्रश्न गरे ।
चियालाई संरक्षण गर्न सरकारले सहयोग नगरेको बताएका उनले चियालाई मल चाहिन्छ तर, चियालाई चाहिने मल सरकारले ५ सय बोरा पनि दिन नसकेको आरोप समेत लगाए । चिया व्यवसायी रोशन अग्रवालले भारतमा चियाको सेम्पलिङ गर्न २५ दिन लगाई दिने बताए । उनले चियाको सेम्पलिङ गर्न २४ घण्टा लाग्छ तर भारतले नेपालीलाई दुःख दिन परीक्षणका लागि नै २५ दिन बिताइदिन्छ । यसो गर्दा हामी व्यवसायी मारमा परेका छौं ।
प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका देवेन्द्र साहूले नेपालबाट चिया निर्यात गर्दा डव्लूटीओसंग सम्झौता गरेको र सोही सम्झौता अनुसार चिया निर्यात गर्नु पर्ने बताए । उनले क्वारेन्टाइन प्रक्रिया पूरा गरेर मात्रै लानुपर्ने बताए । उनले कृषिजन्य निर्यातको आधारमा चिया पाँचौ स्थानमा रहेको बताए । उनले साढे ६ करोड मूल्य बराबरको चिया क्वारेन्टाइन हुँदै निर्यात गरेको जानकारी दिए ।
यता कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले चिया उत्पादन भारतको तुलनामा नेपालमा धेरै हुने गरेको बताए । उनले भने– तर, यहाँ रासायनिक मल खादको अभाव छ । त्यसलाई सहजीकरण गर्नुपर्ने उनको धारणा छ ।
झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजालको प्रमुख आतिथ्य तथा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक विष्णु भट्टराईको अध्यक्षतामा कार्यक्रम भएको थियो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख गौरब लुइँटेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा झापा र इलामका चिया उद्योगी र व्यवसायीले आ–आफ्नो धारणा राखेका थिए ।