२०८३ बैशाख १५ गते , मंगलबार

जीवनभरको कमाइले किनेको जग्गा सडकमा, दमककी विपन्न वृद्धाको बिचल्ली

sajilo news
पार्थ मण्डल
२०७८ माघ २७ गते , विहीबार
जीवनभरको कमाइले किनेको जग्गा सडकमा, दमककी विपन्न वृद्धाको बिचल्ली

झापा । झापाको दमक नगरपालिका–२ मा डेरा बस्दै आएकी ६६ वर्षीया वृद्धा पुन्यदेवी अधिकारीले ३० वैशाख ०७५ मा अर्जुनधारा–८ मा एक कट्ठा जग्गा बैना गरिन् । उनले आफ्नै भदा गायत्री पौडेललाई पछि तीन लाख दिने सर्तमा दुई लाख दिएर जग्गा बैना गरिन् । त्यो वेला उनलाई पुुलचोक–जयपुर सडकनजिकको कित्ता नम्बर १८४३ को राम्रो जग्गा देखाइयो । २८ असोज ०७५ मा मालपोत कार्यालय चन्द्रगढीबाट वृद्धाको नाममा जग्गा पास पनि भयो । पढ्न–लेख्न नजान्ने पुन्यदेवीलाई अर्कै कित्ता नम्बरको जग्गा पास गरियो । ‘म त केही पढ्न जान्दिनँ । मैले त भदाको विश्वास गरेँ । १८४३ कित्ता नम्बरको जग्गा बैना गरेर १९३३ नम्बरको जग्गा पो पास गरिदिएछन्,’ उनले भनिन् । 

जग्गा पास गरेको धेरै समयसम्म उनले गायत्रीलाई जग्गामा किल्ला गाड्दिन आग्रह गरिन् । तर, गायत्रीले सधैँ ‘पछि’ भन्दै टारे । पुन्यदेवीका श्रीमान् पनि बितेपछि उनी एक्ली भइन् । आग्रह गर्दा नमानेपछि दमकका छिमेकी श्रीप्रसाद शिवाकोटीलाई जग्गा छुट्याइदिन भन्दिनँ आग्रह गरिन् । केही महिनाअघि जग्गा छुट्याउन अर्जुनधारा पुगेपछि मात्र थाहा भयो– उनलाई त भदाले नै कालोपत्रे सडक बेचेका रहेछन् । बारम्बार नापी गर्दा पनि उनको जग्गा पुलचोक–जयपुर सडकमा देखियो । ‘केही नबुझ्ने एकल वृद्धालाई यसरी ठगेको थाहा पाएपछि म अड्डामा जान साथ दिइरहेको छु,’ श्रीप्रसाद भन्छन्, ‘उहाँसँग गाडीमा हिँड्ने भाडासम्म हुँदैन । यस्ती वृद्धालाई कसरी ठग्न सकेका हुन् । हामीले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी पनि हालेका छौँ ।’

जिल्ला प्रशासन कार्यालय झापाले जग्गा नाप्न पठाएपछि नापी कार्यालय चन्द्रगढीका अमिन लालुप्रसाद यादवले फिल्डमा गएर जग्गा नापजाँच गरे । ‘कालोपत्रे सडकमै उहाँ (पुन्यदेवी) को जग्गा पर्छ । केही धुर मात्र जग्गा निस्कन्छ,’ उनले भने, ‘म यही रिपोर्ट प्रमुख जिल्ला अधिकारीलाई पेस गर्छु ।’पुन्यदेवीले यो जग्गा सहजै किनेकी हैनन् । उनको योबाहेक अन्त कतै जग्गा पनि छैन । उनकी एउटी छोरीले विवाह गरिसकिन् । उनले यो जग्गामा सात लाख खर्च गरेकी छन् । यो पैसा जीवनभर अरूको जुठो भाँडा माझेर र कपडा धोएर जम्मा गरेकी हुन् । यति गरेर कमाएको पैसाबाट किनेको जग्गा कालोपत्रे सडक बेचेर आफ्नै भदाले उनीमाथि ठगी गरे । ‘म होटेलमा जुठो भाँडा माझ्थेँ । अरूको लुगा धुन्थेँ । जीवनभर दुःख गरेर कमाएको पैसाले जग्गा किनेको हुँ,’ उनी भन्छिन्, ‘बुढेसकालमा यही जग्गाले भए पनि खान्छु भन्ने थियो । यसरी ठगे । अब म के गरूँ । अड्डा अदालत धाउँदाधाउँदा हैरान भइसकेँ । जग्गा फर्कने अत्तोपत्तो छैन ।’

वृद्धा पुन्यदेवीको नाममा छविलाल पोखरेलबाट जग्गा आएको हो । गायत्री र छविलाल जग्गा व्यापारका साझेदार हुन् । अहिले पुन्यदेवीले जिल्ला प्रशासन कार्यालयमा उजुरी हालेपछि उनीहरू दौडधुपमा छन् । पुन्यदेवीमाथि ठगी गर्ने उनकै भदा गायत्रीले भने वृद्धामाथि अन्याय नगर्ने बताए । ‘फुपूलाई यसरी बिगार्ने कुनै नियत छैन । हामीले पनि प्रदीप कार्कीबाट जग्गा लिएका हौँ । उहाँसँग कुरा गर्छौं,’ उनी भन्छन्, ‘फुपूलाई अन्याय गर्दिनँ ।’ जग्गा व्यापारीले वृद्धा पुन्यदेवीमाथि अन्याय गरेको अर्जुनधारा–८ का वडाध्यक्ष गोपीचन्द्र गौतमले बताए । ‘बोल्न नसक्ने उहाँमाथि अन्याय भएको देखिन्छ । निरीह यस्तो मान्छेलाई अन्याय गर्न हुँदैन,’ उनी भन्छन्, ‘जग्गा बेच्नेले उहाँलाई न्याय दिनुपर्छ । उचित सम्बोधन गर्नुपर्छ ।’

दुईपटक जिल्ला प्रशासन कार्यालयमा छलफल पनि भयो । जिल्ला प्रशासन कार्यालयले फिल्डको नापी गर्न अमिन पनि खटायो । तर, कालोपत्रे सडक बेचेर ठगी गर्नेलाई ‘मिलाउने’ सर्तमा छाडेको छ । ‘जग्गासम्बन्धी निवेदन परेको थियो । हामीले छलफल पनि गरायौँ,’ सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले भने, ‘उतै मिलाउँछौँ भनेर सहमति गरेर जानुभएको छ ।’ 

न्यायिक समितिले उजुरी लिएन

अर्जुनधारा नगरपालिकाको न्यायिक समितिले उजुरी दर्ता गर्न अस्वीकार गरेको छ । मंगलबार आफू ठगिएको उजुरी लिएर नगरपालिकाको न्यायिक समितिमा पुगेकी अधिकारीलाई कर्मचारीले दर्ता नै नगरी फर्काएका हुन् । यद्यपि, उनीहरूले छलफल भने गराइदिने प्रतिबद्धता जनाएका छन् । ‘यो हाम्रो क्षेत्राधिकारमा पर्दैन, ठगीअन्तर्गत मुद्दा चल्छ । तर, उहाँ एकल महिला र पढालेखा नभएको वृद्धा हुनुहुन्छ । उजुरी दर्ता नगरे पनि छलफल गराउँछौँ,’ न्यायिक समितिकी कर्मचारी पुष्पा पौडेलले भनिन्, ‘कालोपत्रे सडक बेचेर उहाँमाथि अन्याय भएको छ । वडाध्यक्षसहित केही दिनमा छलफल गराएर निकास दिन्छौँ ।’ कालोपत्रे सडक बेचेर पाँच लाख खाने बिचौलियाले अहिलेको चलनचल्तीको मूल्य दिनुपर्ने उनले बताइन् ।

कालोपत्रे सडक राज्यले नै बनाएको अर्जुनधारा नगरपालिकाले जनाएको छ । तर, विगतमा कायम नभएको र चलनचल्तीमा नरहेको सडक हो । यो सडक नक्सामा समेत छैन । तर, पहुँचवालाले नम्बरी जग्गा दिएर राज्यकै लगानीमा सडक बनेको पौडेलले बताइन् । ‘हामीले फिल्डमै गएर अनुगमन पनि गरेका थियौँ । यो स्थानीय सरकार आउनुअघि नै बनेको सडक हो । नक्सामा कायम नभएको सडक भएकाले नम्बरी जग्गामा छ,’ उनले भनिन्, ‘नम्बरी जग्गामा सडक भए पनि यसरी कालोपत्रे सडक बेच्नु त मिलेन नि ! राम्रो तोरीबारी देखाएर कालोपत्रे सडक बेच्न मिल्छ रु’ 

नगरपालिकाका कर्मचारीले सडक जनप्रतिनिधि आउनुपूर्वको भएको जिकिर गरे पनि वडाध्यक्ष गोपीचन्द्र गौतमले भने ०७६ मा मात्र सडक बनेको दाबी गरे । उनले नम्बरी जग्गामा स्थानीयले सडक दिएको आधारमा कालोपत्रे भएको बताए । ‘पुन्यदेवीले ०७५ मा जग्गा किन्नुभएको हो । यो सडक ०७६ मा मात्र कालोपत्रे भएको हो,’ उनले भने । यो खबर आजको नयाँ पत्रिकामा चिरञ्जीवी घिमिरेले लेखेका छन् ।

सम्बन्धित समाचार