पश्चिम बङ्गालको जलपाइगुढीमा गुवाहाटी जाँदै गरेको रेल दुर्घटना, कम्तीमा सातको मृत्यु, कयौँ घाइते
झापा । भारतको पश्चिम बङ्गालमा बिकानेर–गुवाहाटी एक्सप्रेस रेल दुर्घटना भएको छ । रेल दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ, भने कयौँ यात्रु घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
बिहीबार साँझ ५ बजे पश्चिम बंगलाको जलपाइगुढी जिल्लाको मयनागुरीको डोमहनी नजिकै गुडिरहेको रेलको डब्बा (बोगी) लिकबाट बाहिर खसेपछि दुर्घटना भएको थियो । १२ वटा बोगी लिकभन्दा बाहिर खसेको थियो । दुर्घटनामा चार–पाँच बोगी पूर्णरुपमा क्षति भएको छ । दुर्घटना हुँदा रेलको गति ४० किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ ।
रेल दुर्घटनामा अहिलेसम्म सात यात्रुको मृत्यु भएको पुष्टि जलपाइगुढीका डीएम मोमिता गोद्रा वसुल गरेको छ । अझै पनि धेरै यात्रु बोगीमुनि दबिएका उनले बताएका छन् ।
घाइते ४० जना यात्रुलाई उद्धार गरी म्यानागुरी र जलपाइगुढी अस्पतालमा भर्ना गरिएको छ । रेल दुर्घटनाको खबर पाए लगत्तै स्थानीय प्रशासन, प्रहरीका उच्च अधिकारी घटनास्थलमा पुगे पनि दुर्घटना भएको तीन घण्टा बितिसक्दा पनि रेलवे अधिकृत भने नपुगेका भारतीय सञ्चारमाध्यमले जनाएको छ । रात परिसकेकोले राहत तथा बचाउ कार्यमा समस्या भइरहेको जनाइएको छ । अहिले घटनास्थलमा ५१ वटा एम्बुलेन्स राहत कार्यमा खटाइएको छ ।
सिलगुढी, जलपाईगुडी, धुपगुडीका दमकलका कर्मचारी पनि घटनास्थलमा पुगेका छन् । घटनास्थलमा २०० बढी बीएसएफ जवान उद्धार कार्य खटेका छन् । रेल दुर्घटनामा पश्चिम बङ्गालका आइजी डीपी सिंहले उद्धार कार्य पूरा नभएसम्म घाइतेको वास्तविक सङ्ख्या बताउन गाह्रो हुने बताएका छन् । स्थानीय प्रहरी, एनडीआरएफ, एसडीआरएफ बाहेक स्थानीय बासिन्दाले पनि उद्धार कार्यमा सहयोग गरिरहेका छन् ।
सो रेलमा राजस्थानका ८ सय ७२ जना सवार थिए । बीकानेरबाट ३०८ र जयपुरबाट ५६४ यात्रु चढेका थिए । सो रेल गुवाहुटी गइरहेका थिए । सरकारले मृतकलाई ५ लाख, गम्भीर घाइतेलाई १ लाख र सामान्य घाइतेलाई २५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरिसकेको छ । घटनाको बारेमा प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बर्नजीसँग फोन सम्पर्क गरी जानकारी लिएका छन् ।