२०७८ माघ ५ गते , बुधवार

हात्तीबाट जोगिन चिया खेती, गाउँमै प्रशोधन कारखानाले बाहुनडाँगीका कृषकलाई सहज

हात्तीबाट जोगिन चिया खेती, गाउँमै प्रशोधन कारखानाले बाहुनडाँगीका कृषकलाई सहज :: Times of Pradesh

(पार्थ मण्डल) झापा । जंगली हात्तीको उपद्रोले झापावासी आतंकित बनेका छन् । रैथाने जंगली हात्तीको बथानले वन, जंगल आसपासका खेतीयोग्य जमिनमा कृषकले लगाएको अन्नबालीसँगै जनधनको क्षति पुर्याउँदै आएको छ ।  

हात्तीले अन्नबालीमा पुर्याउँदै आएको क्षति कारण कृषकहरू बढी चिन्तित छन् । दशकौँ अघिदेखि जंगली हात्तीको समस्या झेल्दै आएका भारतीय सीमावर्ती खुला नाकासँग जोडिएको साबिक बाहुण्डागी गाविस हाल मेचीनगर नगरपालिका वडा नम्बर १, २, ३ र ४ का कृषकहरूको मुख्य आम्दानीको स्रोत नै धान, मकै, गहुँ, कोदो लगायतको अन्नबाली थियो । तर, उनीहरू हाल सो अन्नबालीको विकल्पमा अन्य खेतीतर्फ आकर्षित बनेका छन् । 


हात्तीले खेतमा लगाएको धान, मकै, कोदो लगायतका अन्नबाली खाएर र कुल्चेर सखाप पारिदिने क्रम नरोकिएपछि यहाँका किसानहरू व्यक्तिगत तथा सामूहिक रुपमा चिया, सुपारी, मरीच लगायतका वाली लगाउन थालेका छन् । 

गाउँमै चिया प्रशोधन कारखानाले कृषकलाई सहज

हात्तीका कारण पाकेको अन्नबाली समेत घर भित्राउन यहाँका कृषकहरू समस्या झेलिरहेका थिए, स्थानीय कृषक हरि भट्टराईले भने, ‘गाउँमै सहकारी चिया प्रशोधन कारखाना स्थापना भएपछि यहाँका चिया कृषकहरू हरियो पत्ति बिक्री गर्दा राम्रै आम्दानी पाइरहेका छन् ।’ 

मेचीनगर नगरपालिका–४ बाहुण्डाँगीस्थित शुभ चिया किसान सहकारी संस्थाले विगत तीन वर्ष अघिदेखि हरियो चिया पत्ती प्रशोधन कारखाना स्थापन गरी यहाँका चिया कृषकलाई प्रोत्साहन गरिरहेको छ । ‘गाउँमै कारखाना हुँदा हामीलाई हरियो पत्ति बिक्री गर्न टाढा जानुपर्ने समस्या छैन,’ स्थानीय कृषक सविता पौडेलले भनिन्, ‘हात्तीले अन्नबाली खाने समस्या पनि छैन, चिया खेतीले पनि राम्रै आम्दानी दिइरहेको छ ।’ सहकारीमार्फत स्थापना भएको चिया कारखानाले तोकिए अनुसारको चिया पत्तिको मूल्य दिइरहेको छ । उनले भनिन, ‘त्यसैले यहाँका चिया कृषकहरू सन्तुष्ट छन् ।’ 


किसानको जीवन उकास्न र कृषिमा आत्मा निर्भर बनाउन सरकार र सम्बन्धित निकायले आवश्यक समन्वय र सहयोग गर्ने हो भने कृषि पेसाबाट पनि राम्रै आम्दानी हुने किसानहरू बत्ताउँछन् । कृषि सहकारीहरूले पनि अझ प्रभावकारी ढंगले किसान र कृषि क्षेत्रमा आफ्नो दायित्व बहन गर्नुपर्ने स्थानीय चण्डीप्रसाद नेपालले बताए । 

सहकारी संस्थामार्फत ७८ कृषकले लगाए चिया खेती

हात्तीले अन्नबाली नष्ट गर्ने थालेपछि वि।सं। २०५७ सालदेखि सहकारी र बैंकमार्फत कर्जा लिएर यहाँका कृषकहरूले चिया खेती लगाउन थालेको हो । सरकारले हरियो चित्ता पत्तिको उचित मूल्य कायम नगर्दा कृषकहरूको लगानी डुब्ने भएपछि बाध्य भएर चिया उद्योगीलाई हरियो पत्ति सस्तो मूल्यमा बेच्नु परेको शुभ चिया किसान सहकारी संस्थाका अध्यक्ष शम्सेरबहादुर खड्काले बताए । ‘एकातिर हात्तीको आतंक र अर्कातिर मूल्य नपाएर पीडित बनेका चिया कृषकहरूले पटक पटक आन्दोलन पनि ग¥यो,’ उनले भने, ‘त्यसपछि सहकारीमार्फत चिया प्रशोधन कारखाना स्थापनाका लागि सरकारले ५० प्रतिशत अनुदान दिने निर्णय ग¥यो, अनि कारखाना स्थापना भयो ।’

सहकारी संस्थामार्फत ७८ जना कृषकले १० कट्ठा देखि ५ विगहासम्म जमिनमा चिया बगान लगाएर अहिले हरियो चिया पत्ती बिक्री गरिरहेको उनले बताए । ‘धेरै मेहनत गरेर उत्पादन गरेको वस्तुले बजार र उचित मूल्य नपाउँदा यहाँका किसानहरू निराश बनिरहेको अवस्थामा अहिले सहकारीले हरियो पत्ती खरिद गर्न थालेपछि यहाँका चिया कृषकलाई सहज भएको उनको भनाई छ । 





टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment