माई खोलाले गौरीगञ्जमा धान खेती कटान गर्दै, कृषक चिन्तित
.jpg)
झापा । माई खोलाले तटीय क्षेत्र कटान गर्दै क्षति पुर्याउन थालेको छ । साउन १७ गते रातिदेखि परेको वर्षाका कारण आइतबार दिउँसो माई खोलाले करिब एक विगाह जमिन कटान गरेको छ ।
गौरीगञ्ज १ टप्पुस्थित सतार बस्ती नजिक रहेको माई खोलाको बाँध १५० मिटर जति कटान भएकोमा सो बाँध कटान भएको स्थानबाट धान खेतीमा पानी पसी मंगलजंग राजवंशीको अन्दाजी ७ कट्टा धान खेती र बुद्ध हेमरामको १० कट्टा धान खेती गरी जम्मा १७ कट्टा खेतीमा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
तत्काल बस्तीमा डुबान हुने जोखिमको सम्भावना नरहेको र प्रहरी चौकी कुञ्जीवारिबाट प्रहरी सहायक निरीक्षकको टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाँध बाँध्ने सम्बन्धमा जनताको तटबन्धको कार्यालय र स्थानीय निकायबिच छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताएका छन् ।
यसैबिच साबिक महाभारामा माई खोलाले धार परिवर्तन गरी बिर्खे बस्तीतर्फ पस्ने अवस्था आएपछि १ हजार घरधुरी जोखिममा परेका छन् । आइतबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनासहित सुरक्षा निकायका प्रमुख,जनताको तटबन्धका प्रमुख, नेपाली काँग्रेसका पूर्व उपसभापति देउमान थेबे, वडाध्यक्षसहितको टोलीले निरीक्षण गरी तत्काल बाँध बाध्ने कार्य सुरु गरिएको जनाइएको छ ।