मोरङमा हतियार देखाएर सुनचाँदी पसल लुटपाट गर्न खोज्ने पक्राउ

मोरङ । अत्याधुनिक हतियार देखाएर मोरङको सुन्दरहरैँचास्थित विराट चोकको एउटा सुनचाँदी पसलमा लुटपाटको असफल प्रयास गर्ने समूहका पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ परेको समूहले सुन्दरहरैँचा नगरपालिका–१० मा खगेन्द्र थापाले सञ्चालन गरेको शिव पञ्चायन ज्वेलर्समा गत साउन १ गते दिउँसो लुटपाटको प्रयास गरेको थियो । लुटपाटको असफल प्रयास गर्ने समूह अत्याधुनिक हतियारसहित मंगलबार राति पक्राउ परेको हो ।
पक्राउ परेकाको साथबाट लुटपाटमा प्रयोग गरिएको हतियार पनि बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुबाट अत्याधुनिक एवं स्वचालित हतियार एसएमजी ९मेसिनगन०, एउटा कटुवा पेस्तोल र एउटा चाइनिज पेस्तोल तथा ७० राउण्डजति विभिन्न हतियारका गोली बरामद भएको छ ।
थापाले सञ्चालन गरेको सुनचाँदी पसलमा मास्क लगाएर आएको समूहले लुटपाटको प्रयास गरेको थियो । लुटपाटको प्रयास सफल हुन नसकेपछि स्थानीय बासिन्दालाई हतियार देखाएर आतङ्कित एवं त्रसित बनाउँदै उक्त समूह उत्तर–पश्चिमतर्फ लागेको थियो ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको टोलीले खोजी तीव्र पारे पनि उक्त समूह फरार हुन सफल भयो । लुटपाटको प्रयास गर्ने हतियारधारी समूहको खोजीका लागि प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणकुमार बिसीले मोरङ प्रहरीका डीएसपी मञ्जील मुकारुङको नेतृत्वमा इन्सपेक्टर खनालसहितको विशेष टोली परिचालन गरेका थिए ।
प्रहरीको विशेष टोली घटना भएको १२ औँ दिनपछि उक्त गिरोहसम्म पुग्न सफल भएको हो । लुटपाट गर्न खोजिएको दृष्य सुनचाँदी पसलमा रहेको सिसी क्यामेरा फुटेजमा पनि कैद छ । पक्राउ परेकाको साथबाट बरामद भएको एसएमजी नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको विशेष टोलीले मात्रै बोक्न पाउने हतियार हो । लुटपाट प्रयास गर्ने गिरोहले अत्याधुनिक हतियार कहाँबाट ल्याएको होभन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटना भएका बेला पसल सञ्चालक थापा, उनकी श्रीमती टीकादेवी र ६ वर्षका नाति पसलभित्र थिए । टीकदेवी बाहिर निस्किएर होहल्ला गर्न थालेपछि स्थानीयको जमघट बढेसँगै पसलभित्रबाट निस्किएर लुटेरा समूह फरार बनेको हो । घटनामा अरु पनि संलग्न भएको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ ।